काठमाडौं । प्रदेश १ सरकारले यातायात व्यवस्था कार्यालयका काम अनलाइन प्रणालीमार्फत गर्ने तयारी थालेको छ ।

 

कोरोना महामारीसँगै सुरु भएको विकल्पले कालान्तरसम्म पनि सेवाग्राहीलाई सुविधा दिने सोचसहित यातायात सम्बन्धी दर्ता/नवीकरण लगायतका काम अनलाइनमार्फत नै गर्न लागेको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईले बताएका छन् ।

‘यातायात सम्बन्धी सवारी दर्ता/नविकरण लगायतका कामका लागि सेवाग्राहीहरू यातायात कार्यलयसम्मै धाउन नपरोस् भन्ने उद्देश्यसहित हामीले यो व्यवस्था लागू गर्न लागेका हौं,’ टेकपानासँग उनले भने ।

 

उनका अनुसार हाल सफ्टवेयर परीक्षणकाे काम पनि भइरहेकाे छ । चार पाङ्ग्रे सवारीका लागि हाल सफ्टवेयरको परीक्षण भइरहेको उनले बताए ।

 

‘सकेसम्म सेवाग्राहीलाई सजिलो हुने हिसाबले हामीले सफ्टवेयरको कामलाई अगाडि बढाइरहेका छौं । केही परीक्षण पनि गरेका छौं । यद्यपि पूर्णरुपमा अनलाइन व्यवस्था कहिलेदेखि सुरु हुन्छ भन्ने कुरा चाहिँ अहिले नै भन्न सकिन्न,’ उनले भने ।

 

भट्टराईका अनुसार यातायातसम्बन्धी अनलाइन सेवाको व्यवस्था वेब र मोबाइल एप दुवैमार्फत गरिनेछ । यद्यपि रकम भुक्तानीपछि भेरिफिकेसनको लागि भने एकपटक कार्यलय नै पुग्नुपर्ने भन्ने अवस्था चाहिँ हुनसक्ने उनले बताए ।

‘राजस्व संकलनको जिम्मा महालेखा नियन्त्रण कार्यालयले प्रदेश सरकारलाई दिइनसकेको हुँदा अनलाइन भुक्तानी हामीले सुरु गरिहाल्ने अवस्था छैन,’ उनले भने, ‘महालेखाले अनुमति दिएको खण्डमा हामी आफैंले अनलाइन भुक्तानी सुरु गर्न सक्थ्यौं ।’

अनलाइन भुक्तानीका लागि पनि पहल भने भइरहेको उनले बताए ।

https://www.techpana.com/2021/101038/