काठमाडौं । आफूविरूद्द समाचार प्रकाशन गर्ने अनलाइन पोर्टल क्लासिक टेकले बन्द गरेको भन्ने समाचार गलत भएको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ ।

 

एक विज्ञप्ति जारी गर्दै आईस्पानले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका शीर्षकमा प्रकाशित समचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यस घटनाबारे सत्यतथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिँदै अतिरञ्जित रुपमा समाचार प्रकाशन भएको हाम्रो ठहर छ । यस्ता किसिमका कार्यले हामीलाई दुखित तुल्याएको छ,’ आईस्पानले भनेको छ ।

 

उक्त सञ्चारमाध्यमकाे वेबसाइट होस्ट क्लासिक टेकमा नभएकाले त्यसको स्वामित्वमा अन्तै हुने र त्यसमा क्लासिक टेकको पहुँच र नियन्त्रण नुहने आईस्पानले स्पस्ट पारेको छ ।

 

‘प्राविधिक रुपमा भन्नुपर्दा त्यस सञ्चारमाध्यमको वेबसाइट क्लासिक टेकमा हाेस्ट नभएकाले त्यसको स्वामित्व क्लासिक टेकमा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

जनतालाई निरन्तर सूचना प्रवाह गर्ने सम्मानित सञ्चारमाध्यमले कुनै एक संस्थाप्रति पूर्वाग्रही भएर लागेको भेटिएकाले यस्ता अतिरञ्जित कुराप्रति नलागी सूचनाको हक विपरितको कार्य नगर्न पनि आईस्पान आग्रह गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार र अदालतको निर्णयबिना कुनै पनि इन्टरनेट सेवाप्रदायकले सञ्चारमाध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको आईस्पानले उल्लेख गरेकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण, अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण गरिनुअघि सम्बन्धित संस्था र व्यत्तिसँग बुझ्नुपर्ने पत्रकारिताको सामान्य धर्म निर्वाह गरी दिनुहुन आग्रह गर्दै, स्वार्थ पूर्तिका लागि अर्नगल प्रचार गर्ने व्यक्ति र सञ्चारमाध्यमलाई जिम्मेवार हुनसमेत आग्रह गर्दछौं ।

https://www.techpana.com/2021/101182/