काठमाडौं । गुगल प्ले स्टोरमा खतरनाक मालवेयर ‘जोकर’ युक्त एप फेला परेसँगै त्यस्ता एपमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । गुगलले हालै ‘जोकर’ मालवेयरयुक्त थप ८ एप प्ले स्टोरबाट हटाएको छ ।

 

सन् २०२० मा गुगलले यो भाइरसबाट संक्रमित ४० वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको थियो । त्यसयता झण्डै १८ सय एप प्ले स्टाेरमा प्रतिबन्धित छन् ।

प्ले स्टोरमा प्रतिबन्धित एपको सूची लामो छ । तर यस भाइरसबाट संक्रमित हुने एपको संख्या भने पूर्ण रूपमा रोकिएको छैन ।

 

साइबर सेक्युरिटी कम्पनी क्विक हिल सेक्युरिटी ल्याबका अनुसार ‘जाेकर’ भाइरसले प्रयोगकर्ताको अनुमति तथा जानकारी बिना एसएमएस, कन्ट्याक्ट लिस्ट, डिभाइसको जानकारी, ओटीपी कोड लगायतका प्रयोगकर्ताका डेटा चोरी गर्न सक्छ ।

 

भाइरसबाट प्ले स्टोरमा भएका एपहरु आफैं गायब हुने र बैंकिङ जानकारीहरु कब्जामा लिनुका साथै प्रयोगकर्तालाई थाहै नदिई रकम चाेरी हुन सक्छ ।

 

गुगलले प्ले स्टोरबाट हटाएको भए पनि तपाईंको मोबाइलमा भने अझै यी एप रहेका हुन सक्छन् । प्रयोगकर्ताका लागि निकै खतरनाक यी एप यदि तपाईंको मोबाइलमा पनि छन् भने तुरुन्त डिलिट गर्नु बुद्धिमानी हुनेछ ।

हालै बेल्जियम प्रहरीले गुगल प्ले स्टोरमा थप ८ एप जोकर भाइरसबाट संक्रमित भएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

‘गुगलले प्ले स्टोरबाट हटाएका एपमा खतरनाक मालवेयर ‘जोकर’ फेला परेको छ,’ बेल्जियम प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘जसले प्रयोगकर्ताको मोबाइललाई कमजोर बनाई जस्तोसुकै मालवेयर इन्स्टल गर्नसक्ने भएकाले त्यस्ता एप तत्कालै हटाउन आग्रह गरिन्छ ।’

 

त्यतिमात्रै नभएर एकपटक उक्त मालवेयर मोबाइलमा प्रवेश गरेसँगै त्यसमा स्पाइवेयर इन्स्टल गरी प्रयोगकर्ताका हरेक कुराको निगरानी सम्भव भएको समेत उल्लेख गरिएको छ ।

साथै तपाईंको मोबाइल बैंकिङ लगायतका एपमा पहुँच बनाएर विभिन्न सब्क्रिप्सन प्लानहरु खरिद गर्ने लगायतका काम समेत हुने जनाइएको छ ।

पछिल्लो पटक जोकर मालवेयर फेला परेका एपको सूची यस्तो छ:

  • Auxiliary Message
  • Element Scanner
  • Fast Magic SMS
  • Free CamScanner
  • Go Messages
  • Super Message
  • Great SMS
  • Travel Wallpapers  

https://www.techpana.com/2021/101203/