काठमाडौं । चर्चित म्यासेजिङ एप ह्वाट्सएपले अब एन्ड्रोइड तथा आईओएसबीच हिस्ट्री ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । केही समय अघि कम्पनीले आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने फिचर उपलब्ध गराउने विषय बाहिरिएको थियो ।
 

तर, अब भने कम्पनीले नै आधिकारिक रुपमा यो फिचर उपलब्ध भएको जानकारी दिएको हो । कम्पनीले बिहीबार आफ्नो ब्लगमार्फत नयाँ फिचर प्रयोगकर्तामाझ उपलब्ध भएको जनाएको छ ।

‘ह्वाट्सएपको च्याट हिस्ट्री प्रयोगकर्ताको सम्पत्ति हो,’ कम्पनीले भनेको छ, ‘म्यासेज हराउने फिचर पछि प्रयोगकर्ताबाट सबैभन्दा बढी माग भएको अर्को फिचरका पनि यो थियो । त्यसैले हामीले अब प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराएको छौं ।’

कम्पनीका अनुसार पहिलो चरणमा यो फिचर सामसङका एन्ड्रोइड १० र त्यो भन्दा माथिका डिभाइसमा उपलब्ध हुनेछ । भने, विस्तारै अन्य एन्ड्रोइड डिभाइसमा समेत उपलब्ध हुनेछ । यो सँगै प्रयोगकर्ताले पुरानो डिभाइसबाट नयाँ डिभाइसमा सिफ्ट हुँदा ह्वाट्सएपको च्याट हिस्ट्री सहज रुपमा ट्रान्सफर गर्न सक्नेछन् ।