काठमाडौं । काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो ।

उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्यूआर कोड भएको चिट काटेर दिनेछ ।

 

त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

 

उनले सातै प्रदेशमा प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको बताए ।

 

हातले रसिद काटेर जरिवाना लिने क्रमको अन्त्यका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ध्यान दिँदै अघि बढेको र त्यही सिलसिलामा नयाँ सफ्वेयरको विकास गरी सेवा प्रारम्भ गरिएको उनको भनाइ थियो ।

केही दिनभित्रैमा ३०/४० वटा बैंकमार्फत पैसा तिर्न सकिने गरी सफ्टवेरमा जोडिन पनि महाशाखाले जनाएको छ । निकट भविष्यमा नै डिजिटल चिट प्रणालीमा जाने तयारी गरिएको जानकारी दिँदै उनले चालकको मनस्थितिमा परिवर्तन ल्याउनु अर्काे चुनौतीपूर्ण कुरा रहेको बताए ।

महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्माले नागरिक प्रविधिमैत्री भइसकेको सन्दर्भमा हामीले पनि प्रविधिको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

 

तथ्याङ्क हेर्दा ६० प्रतिशत नागरिकसँग स्मार्ट फोन छ भने ७३ प्रतिशत मानिसले बैंक खाता खोलिसकेका छन् । त्यसैले पनि क्यूआर कोड प्रयोग प्रभावकारी हुने दाबी महाशाखाको छ ।

यो प्रविधिको प्रयोगसँगै अब घण्टौं लाइनमा लागेर पैसा तिर्नुपर्ने बाध्यता रहने छैन । ट्राफिकसम्बन्धीका अन्य गतिविधिलाई पनि प्रविधिमैत्री बनाउँदै लगिएको जनाइएको छ । यसरी शुल्क तिर्दा आफूलाई पायक पर्ने ठाउँमा गएर आफ्नो कागजपत्र लिन पाउने व्यवस्थासमेत मिलाइने महाशाखाले जनाएको छ ।

-गाेरखापत्र

https://www.techpana.com/2021/101241/