काठमाडौं । बहुप्रतिक्षित क्राइम–थ्रिलर सिरिज’ मनि हाइस्ट सिजन ५’ शुक्रबार नेटफ्लिक्समा सार्वजनिक भएको छ । मनी हाइस्ट सिरिजको पाँचौ सिजन दुई भागमा सार्वजनिक भएका छन् । जसमध्ये पहिलो भाग शुक्रबार सार्वजनिक भएको छ भने दोस्राे भाग आउँदो ३ डिसेम्बरमा सार्वजनिक हुनेछ ।

 

नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिजमध्ये एक सिरिजको रुपमा रहेको मनि हाइस्ट नेपाली प्रयोगकर्तामाझ पनि त्यतिनै लोकप्रिय छ । जसले नेटफ्लिक्समा मनि हाइस्ट सार्वजनिक भएसँगै धेरै नेपाली उक्त सिरिज हेर्नमा व्यस्त भए । यही व्यस्तताले नेपालको इन्टरनेटलाई पनि व्यस्त बनाइदियो ।

जसको प्रतिफल इन्टरनेटको खपत उच्च हुने पुगेको छ । नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार शुक्रबार इन्टरनेटको खपत झण्डै दाेब्बर भएको छ । उक्त दिन इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ३५ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रूपेश श्रेष्ठका अनुसार सामान्य अवस्थामा भन्दा उक्त दिनको ट्राफिक झण्डै दाेब्बर पुगेकाे छ ।

 

त्यसकाे भोलिपल्ट शनिबार पनि ट्राफिक उच्च नै थियो । तर, शुक्रबारको तुलनामा भने केही कम थियाे । । उनले भने, ‘सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ देखि १५ जीबी हुने गर्छ । तर, नेटफ्लिक्स सार्वजनिक भएको दिन ट्राफिक उच्च भएको थियो ।’

 

उनले त्यसरी इन्टरनेटको खपत बढ्नुको मुख्य कारण नेटफ्लिक्स नै भए/नभएको भन्ने विषय भने यकिन गर्न नसकिने बताए ।

 

तर, अर्कोतर्फ इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका निर्देशक विनय बोहोराले भने आफ्नो नेटवर्कभित्र नेटफ्लिक्समा उक्त दिन सबैभन्दा बढी ट्राफिक आएको बताएका छन् ।

‘सामान्यतया ५ जीबी खपत हुने गरेकोमा शुक्रबार दिन १० जीबी पुगेको थियो,’ बोहराले भने, ‘त्यसमा सबैभन्दा बढी ट्राफिक नेटफ्लिक्सबाट आइरहेको थियो । त्यो क्रम शनिबार पनि कायम रहेको भएता पनि विस्तारै घट्दै गएको छ ।’

अर्कोतर्फ नेपालको इन्टरनेटको खपतमा गएको बिहीबार पनि ठूलो मात्रामा बढेको थियो । नेपाल–भारत मैत्रिपूर्ण फुटबल खेलका दिन पनि इन्टरनेट ट्राफिकले नयाँ आयाम कायम गर्न सफल भएको थियो ।

 

यसअघि फुटबल खेलकै क्रममा गएको असार १५ गते नेपालको आन्तरिक इन्टरनेट ट्राफिकले आजसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको थियो । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विजरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच ।

उक्त दिन आन्तरिक इन्टरनेट ट्राफिक ४९ जीबी पुगेको थियो । जुन नेपालको इन्टरनेट इतिहासमा हालसम्मकै उच्च हो । श्रेष्ठका अनुसार यस्ता किसिमका फुटबल खेलहरू सुरु हुनासाथ नेपालको आन्तरिक इन्टरनेट ट्राफिक बढ्ने गरेको छ ।

नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल भएको दिन आन्तरिक इन्टरनेट ट्राफिक ३९.५३३ जीबी पुगेको थियो । आज हुने दोस्रो खेलको क्रममा इन्टरनेटको ट्राफिक बढ्ने समेत श्रेष्ठले बताए ।

https://www.techpana.com/2021/101426/