काठमाडौं । नेपाल टेलिकमले फाइभजी प्रविधिको परीक्षणलाई प्राथमिकता राखेको जनाएको छ । फोरजी विस्तारको परियोजना सम्पन्न हुने चरणमा रहेकाे र यसै आर्थिक वर्षभित्र फाइभजी परीक्षणको तयारी रहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

 

उनका अनुसार फोरजी आयोजना सम्पन्न भएपश्चात चार सहरमा फाइभजी सेवा परीक्षण गर्ने टेलिकमको लक्ष्य छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई जेठ १६ गते फाइभजी सञ्चालनका लागि अनुरोध पठाइसकेको प्रवक्ता जोशीले जानकारी दिए ।

टेलिकमले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता जोशीले फोरजी परियोजनाको प्रगति ९७ प्रतिशत पुगिसकेको छ ।

 

फोरजी सेवा ७७ जिल्लाका ६ सय ८२ स्थानीय तहमा पुगिसकेको प्रवक्ता जोशीले जानकारी दिए । फोरजीका लागि चार हजार १८६ वटा भौतिक साइट निर्माण गर्नुपर्नेमा ३ हजार ५४४ वटा साइट तयार भइसकेको उनले बताए ।

 

यस्तै, फोरजी विस्तारका लागि राख्नुपर्ने ६ हजार ७३२ वटा लजिकल साइटमध्ये ५ हजार ९४३ साइटहरु सञ्चालनमा आइसकेका छन् । फोरजी विस्तारका लागि राख्नुपर्ने सानासाना टावरलाई लजिकल साइट भनिन्छ ।

 

टेलिकमले फोरजी सेवाकै एक अंगको रुपमा रहेको भीओएलटीई सेवाको परीक्षण जेठदेखि सुरु गरिसकेको छ । भीओएलटीई सेवाले इन्टरनेट बिना नै भिडिओ कल गर्ने सुविधाका साथै आवाजको गुणस्तर सुधार्ने टेलिकमले जनाएको छ ।

https://www.techpana.com/2021/101546/