काठमाडौं । लामो समयदेखि अनुसन्धानकर्ताहरूले ठूलो सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने बताउँदै आएका छन् ।

 

यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ, जसले कतिपय महादीपमा महिनौंसम्म इन्टरनेट बन्द हुनसक्ने बताएको छ ।

सय वर्षमा एकपटक आउने यस्ताे सौर्य आँधीले महिनौंसम्म इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने निष्कर्ष साे अध्ययनले निकालेको हाे ।

 

गत महिनामा सिगकम २०२१ कन्फ्रेन्स आयोजना भएको थियो । उक्त कन्फ्रेन्समा युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर संगीता अब्दु ज्योतिले उक्त अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

 

साे क्रममा उनले हाल समुन्द्र सतहमुनी बिछ्याइएका केबलको अवस्था नाजुक रहेकाले सौर्य आँधीको असर त्यसमा पर्नसक्ने बताइन् ।

 

‘यसको प्रभाव अन्य महादीपमा पनि पर्नेछ,’ उनले भनिन्, ‘किनभने त्यही समुन्द्र सतहमुनी बिछ्याइएका केबलमार्फत धेरै महादीप इन्टरनेटसँग जोडिएका छन् ।

उनले अगाडि भनिन्, ‘कोभिड-१९ को महामारीका लागि विश्व कति पनि तयार थिएन भन्ने देखिएको छ । त्यस्तै ठूलो सौर्य आँधीका लागि पनि हामी तयार छैनौं । हाम्रो पूर्वाधार पनि त्यो अनुसार तयार छैन ।’

अध्ययनका अनुसार समुन्द्र सतहमुनी बिछ्याइएका झण्डै ५० देखि एक सय ५० किलोमिटर फाइबर अप्टिक केबलमा सौर्य आँधीले असर पार्नेछ । जसबाट ठूलो संख्यामा इन्टरनेट प्रयोगकर्ता प्रभावित हुनसक्ने अनुमान गरिएकाे छ ।

 

-एजेन्सी

https://www.techpana.com/2021/101763/