काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त बैंक अर्थात वाणिज्य बैंकहरुले अब ‘आईपी पीएबीएक्स’ सेवामा आधारित भ्वाइस कम्युनिकेशन प्रयोग गर्नसक्ने भएका छन् ।

 

योसँगै त्यस्ता बैंकले आफ्ना शाखा कार्यालयहरुमा सिधै आन्तरिक टेलिफोनबाटै कुराकानी गर्नसक्ने भएका हुन् ।

यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘आईपी पीएबीएक्स’ सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था गरेको हो ।

 

प्राधिकरण बोर्डको सोमबार बसेको बैठकले ‘आईपी पीएबीएक्स’ सेवासम्बन्धी निर्णय गर्दै पहिलो चरणमा वाणिज्य बैंकहरुलाई त्यस्तो सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

 

यसअघि इन्टरनेटमा आधारित पीएबीएक्सलाई कानूनले प्रतिबन्ध गरेको थियो । जसले गर्दा हालसम्म बैंकहरुले एउटै कार्यालयभित्र मात्र आन्तरिक भ्वाइस कम्युनिकेशन गर्नसक्ने प्रावधान रहेको थियो ।

 

तर, अब भने इन्टरनेट प्रोटोकल आधारित भएर त्यसमार्फत टेलिफोन सम्भव हुनेछ । योसँगै एउटा बैंकले आफ्ना सबै शाखा तथा कार्यालयहरुमा आन्तरिक टेलिफोनबाटै कल गर्न सक्नेछन् ।

तर, यसका लागि बैंकहरुले दूरसञ्चार सेवाप्रदायकसँग समन्वय गर्नुपर्ने प्रावधान राखिएको छ ।

‘सेवाको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सम्बन्धित सेवाप्रदायक र सेवा प्राप्त गर्ने संघ-संस्थाबीच आपसी समझदारीमा सिपको पोर्ट नम्बर/सेसन लिमिट गर्नसक्ने र यदि सो गर्ने सन्दर्भमा दुई पक्षबीच आपसी समझदारी नभएमा प्राधिकरणले अन्तिम निर्णय गरिदिने छ,’ उक्त व्यवस्थामा भनिएको छ ।

 

यसका साथै उक्त नीतिले शाखा कार्यालयहरुबीच गरिने भ्वाइस सञ्चारको क्रममा प्रयोग भएको नेटवर्कमा पब्लिक आईपी प्रयोग गरेर नेपाल बाहिरबाट कल ल्याई पीएसटीएन/पीएलएमएन/आईएसडीएन नेटवर्कमा कनेक्सन वा इन्टरकनेक्सन गर्न नपाउने व्यवस्था गरेको छ ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार पहिलो चरणमा ‘क’ वर्गका बैंकहरुलाई मात्र यस्तो सेवा सञ्चालनको अनुमति दिइएको छ ।

यसबाट दूरसञ्चार सेवाप्रदायकमा पर्न जाने असर लगायतका विभिन्न विषयलाई केलाएर विस्तारै यो सेवा अन्य बैंक तथा क्षेत्रमा समेत विस्तार गरिने छ ।

https://www.techpana.com/2021/101927/