काठमाडौं । अटो क्षेत्रमा प्रतिष्ठित ब्राण्डका रुपमा रहेको बीएमडब्लूले इलेक्ट्रिक बाइसाइकल र मोटरबाइक सार्वजनिक गरेको छ । सार्वजनिक भएका बाइसाइकल र मोटरबाइक दुवैको कार्यक्षमता उस्तै रहेका छन् ।

 

कम्पनीले हाइस्पिड बाइसाइकल सार्वजनिक गर्दा लो-स्पिड इलेक्ट्रिक मोटरबाइक पनि सार्वजनिक गरेको छ । हुन त कम्पनीले यी दुवैलाई आफ्नो छुट्टाछुट्टै डिभिजनमा सार्वजनिक गरेको छ ।

कम्पनीको बाइसाइकल डिभिजनमा ‘बीएमडब्लू मोटरराड’ भित्र भिजन ‘आई एम्बी’ सार्वजनिक गरिएको हो, जुन इलेक्ट्रिक बाइसाइकलको सेग्मेन्ट अन्तर्गत रहेको छ ।

 

यसमा प्रयोग भएको सस्पेन्स लगायतका उपकरण अन्य हाई-इन्ड बाइसाइकलमा जस्तै रहेका छन् । दुई हजार डब्लूएच पावरको ब्याट्री रहेको बाइसाइकलमा एक पटकको फुल चार्जमा तीन सय किलोमिटरसम्मको यात्रा तय गर्न सकिने दाबी कम्पनीको छ ।

 

उक्त बाइसाइकलका लागि कम्पनीले मोबाइल एप पनि उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो उच्च गति तय गरी त्यसैका आधारमा कुदाउन सक्नेछन् ।

 

विषेशगरी यो फिचर युरोपमा प्रभावकारी हुने जनाइएको छ । जहाँ प्रतिघण्टा २५ किलोमिटरका दरले बाइसाइकल कुदाउन पाउने प्रावधान छ । यसको उच्च गति ६० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

यस्तै कम्पनीले इलेक्ट्रिक बाइक पनि सँगै सार्वजनिक गरेको छ । यसको गति पनि ६० किलोमिटर प्रतिघण्टा नै रहेको छ । कम्पनीले कम गति प्रदान गर्ने बाइकको रुपमा यसलाई सार्वजनिक गरेको हो । जुन अफरोडमा समेत हाँक्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले बाइकमा प्रयोग भएको ब्याट्रीको विषयमा भने हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन् । तर, थोरैमा पनि दुई हजार डब्लूएचभन्दा बढी क्षमताको ब्याट्री हुनसक्ने अनुमान गर्न सकिन्छ ।

https://www.techpana.com/2021/102323/