काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि संसदको ल्होत्से हलमा बैठक आह्वान गर्नुभएको हो ।

सभामुख सापकोटाले आइतबार संसदभित्रै बैठकको बीचमा एमालेसँग संवादको प्रयास गर्नुभएको थियो । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो। तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

सहमतिमा ल्याउने प्रयास असफल भएपछि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो । 

आफ्नो दलले कारबाही गरेका १४ सांसद प्रतिनिधि सभा बैठकमा सहभागी भएसम्म सदन अगाडि बढ्न नदिने एमालेको बटमलाइन छ । एमालेले पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको मात्र नभई संवैधानिक मर्यादा उल्लङ्घन गरेको आरोप लगाएका छन् । तर सभामुख सापकोटाले आफू संसदीय मर्यादा, विधि र कानूनबाट बाहिर नगएको दाबी गर्नुभएको छ । 

समस्या समाधानका लागि आज दिउँसो बोलाइएको सर्वदलीय  बैठकबाट सहजै समाधान निस्किने वा एमाले पछाडि हटाउने सभामुखले कस्तो सूत्र प्रयोग गर्छन्, जुन अनिश्चित छ । एमाले अझै पनि सभामुखले कारबाही गरेको सूचनाको पत्र सभामुखले टाँस्नुपर्ने जिकिर गर्न थालेको छ, जुन सम्भव नै नभएको एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको धारणा छ । संसदबाट  सांसदलाई निकाल भनेर ५ दिन मात्र हैन ५ वर्ष नारा जुलुस गरे पनि निकाल्न नमिल्ने समाजवादीका नेता विरोध खतिवडाको भनाइ छ । अधिकार नै नभएको विषय माग गरेर एमालेले संसदीय अभ्यासकै बर्खिलाप गरिरहेको उहाँले बताउनुभयो । 

https://www.janatasamachar.com/detail/271777