काठमाडौं । ‘कहाँ’ शब्द एउटा यस्तो पूर्ण प्रश्न हो, जसले कुनै विशेष गन्तव्य (पुग्नुपर्ने ठाउँ) को जवाफ खोज्दछ । जब कतै पुग्नु छ, तर बाटोको अत्तोपत्तो छैन, तब कहाँ भनी प्रश्न गरिन्छ । कोही आइरहेको छ बाटो अल्मलियो कहाँ भनी प्रश्न गरिन्छ ।

 

दैनिक जीवनमा खोजिने कहाँ प्रश्नको जवाफ दिन नेपाली बजारमा कहाँ एपको सुरूवात गरिएको छ । नेपालमा बनेको कहाँ एपमा स्थानीय भाषालाई समावेश गरिएको छ । ताकि सबै किसिमका प्रयोगकर्ताहरूले सजिलै कहाँको उपयोग गर्न सकुन् ।

मेसोभिजन टेक्नोलोजीले तयार गरेको ‘कहाँ’ ले प्रयोगकर्ताहरूलाई सजिलै गन्तव्यसम्म पुर्‍याउने दाबी गरिएकाे छ ।

 

लोकेसन (ठेगाना/पुग्नुपर्ने स्थान) पत्ता लगाउन गुगल म्यापजस्ता एपहरू पनि उपलब्ध छन् । तर नेपालको परिप्रेक्ष्यमा यस्ता एपले खासै राम्रो काम गरेको पाईंदैन ।

 

नेपालका बाटाे र ठेगाना अन्तर्राष्ट्रिय प्रविधिको पद्धतिसँग मिल्ने किसिमका नहुनाले गुगल म्यापको प्रयोग गर्दा अन्यत्रै पुगेको अनुभव पनि धेरैसँग छ ।

 

कहाँ एप गुगल प्लेस्टोरबाट डाउनलोड गरेर चलाउन सकिन्छ । एप इन्स्टल भइसकेपछि प्रयोगकर्ताले आफू भएको स्थान (लोकेसन सेटअप) निश्चित गर्नुपर्ने हुन्छ ।

यो एप व्यक्तिगत र व्यावसायिक गरी दुई किसिमको प्रयोजनका लागि रजिष्ट्रर गर्न सकिन्छ । व्यक्तिगत प्रयोजनका प्रयोगकर्ताले एकपटक राखिसकेको स्थायी ठेगाना पछि परिवर्तन अथवा डिलिट गर्न मिल्दैन ।

व्यवसायिक प्रयोजनका लागि सेटअप भएको लोकेसन सामान्य प्रयोगकर्ताहरूले हेर्न मिल्ने बनाइएको हुन्छ, जसले सेवाग्राही र सेवा प्रदायकलाई जोडिराख्न मद्दत गर्दछ ।

 

साथै अस्थायी ठेगाना (लोकेसन ट्याग) को प्रयोग गरी घटनाको जानकारी दिन सकिन्छ । यस एपमार्फत दुर्घटना, चोरी/डकैती, आगलागी र धम्की लगायतका बारेमा सम्बन्धित निकायमा  ठेगाना सहित खबर गर्न सकिन्छ ।

यसमा तत्काल उपलब्ध हुने च्याट फिचरका कारण ठेगाना बताउने काममा मात्र नभई व्यापारिक गतिविधिका लागि म्यासेजिङ एपको समेत काम गर्दछ ।

व्यक्तिगत दैनिकी र व्यवसायिक सहजताका लागि ‘कहाँ’ मार्फत डिजिटल संसारमा प्रवेश गर्न सकिन्छ । प्रयोगकर्ताले विभिन्न प्रयोजनका लागि याे एपको प्रयोग गर्न सक्छन्:

सामान्य प्रयोगकर्ता: सम्पर्कमा भएका व्यक्तिहरूसँग तुरुन्तै अस्थायी ट्याग शेयर गर्न सकिन्छ । सेवाप्रदायक संस्थाहरूको ट्याग पत्ता लगाउन सकिन्छ

 

होटेल/रिसोर्ट/गेष्ट हाउस: नियमित ग्राहकलाई स्थायी ठेगानाको ट्याग उपलब्ध गराउन सकिन्छ । साथै उपलब्ध सेवासम्बन्धी जानकारी दिन सकिन्छ ।

विद्यालय/क्याम्पस/शैक्षिक संस्थाहरू: स्थायी ठेगानाको ट्याग लिई शैक्षिक गतिविधिबारे जानकारी उपलब्ध गराउन सकिन्छ ।

रियल एस्टेड(घर जग्गा खरिद बिक्री) : स्थायी ट्याग प्राप्त गर्ने, सेवासम्बन्धी मल्टिपल ट्याग बनाई ईच्छुक व्यक्तिलाई शेयर गर्न सकिन्छ ।

यातायात सेवा: पिकअपका लागि सही ठेगानाको ट्याग शेयर गर्न र लिन सकिन्छ । 

https://www.techpana.com/2021/102532/