काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आज आफ्नो स्थापनाको २६ वर्ष पुरा गरेको छ । अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीको यात्राले २६ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क हेर्ने हो भने फिक्स्ड ब्राेडब्याण्ड इन्टरनेट पहुँचको ३० प्रतिशत योगदान वर्ल्डलिंकको छ । सन् १९९५ मा ईमेल सिस्टमबाट सुरू भएको वर्ल्डलिंकले यो अवधिमा डायलअपदेखि फाइबर टु दी होमसम्मको यात्रा तय गरेको छ ।

ईमेल सेवा हुँदै वर्ल्डलिंकले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गरेको थियो । त्यसको दुई वर्षपछि काठमाडौंबाहिर सेवा विस्तार गरेको गर्‍यो । कम्पनीले अन्तर्राष्ट्रिय ब्याण्डविथका लागि भि-स्याटको सुरुवात पनि त्यहीँबाट गरेको हो ।

 

त्यसको एक वर्षपछि अर्थात् सन् २००० मा कम्पनीले वायरलेस ब्रोडब्यान्ड इन्टरनेट सेवाको सुरुवात गर्‍यो । कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी गरेको थियो ।

 

यो सन् २००१ को कुरा हो । अकमाईसँगको यो साझेदारीसँगै कम्पनीले भि-स्याट नेटवर्कमार्फत देशका प्रमुख सहरमा इन्टरनेटको विस्तारलाई बढवा दियो ।

 

सन् २००३ मा आएर कम्पनीले केबल इन्टरनेट सेवाको सुरुवात गर्‍यो । त्यसको तीन वर्षपछि वायरलेस प्रविधिबाट कम्पनीले देशका प्रमुख सहरमा इन्टरनेटको विस्तार गर्‍याे ।

यसरी देशव्यापी रुपमा इन्टरनेट विस्तारको काम गरिरहेको कम्पनीले सन् २००८ मा अन्तर्राष्ट्रिय ब्यान्डविथका लागि ‘क्रस बोर्डर फाइबर’ जडान गरेको थियो ।

यसरी अन्तर्राष्ट्रिय इन्टरनेटतर्फ आफूलाई विस्तार गरेको कम्पनीले सन् २०१० मा स्थानीय सर्भरका लागि गुगलसँग साझेदारी गर्‍यो ।

 

उक्त सम्झौताले ग्राहकको इन्टरनेट अनुभवलाई अझ प्रभावकारी बनाउन अर्को महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । इन्टरनेटको अनुभवलाई अझ प्रभावकारी बनाउने क्रममा कम्पनीले सन् २०१२ मा नेपालमा पहिलोपटक १० एमबीपीएसको इन्टरनेट सुरु गरेको थियो ।

त्यसबेला दिइएको उक्त १० एमबीपीएस इन्टरनेट केबलमा आधारित थियो । त्यसको दुई वर्षपछि कम्पनीले फाइबर टु दी होम (एफटीटीएच) इन्टरनेटको सुरुवात गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको असार मसान्तसम्मको तथ्याङ्कअनुसार हाल वर्ल्डलिंकका फाइबर प्रयोगकर्ता चार लाख ८५ हजारभन्दा बढी छन् ।

कम्पनीले सन् २०१६ मा कन्टेन्ट क्यासका लागि फेसबुकको साथ साझेदारी गरेको थियो । त्यही वर्षबाट नेपालमै पहिलोपटक कम्पनीले आईपी टिभी सेवाको सुरुवात गरेको हो । जसको प्रयोगकर्ता पनि ठूलो संख्यामा वृद्धि भएको छ ।

 

सेवा विस्तारसँगै कम्पनीले ग्राहकको सुरक्षाको लागि अनलाइन बालबालिकामाथि हुने दुर्व्यवहार रोक्न ‘सेफनेट’ सेवा सञ्चालन ल्याएको छ ।

कम्पनीले नेपालमै पहिलोपटक सन् २०१८ मा आईपीभी सिक्सको सुरुवात गरेको थियो । सोही वर्षबाट कम्पनीले निःशुल्क पब्लिक वाईफाई उपलब्ध गराउने थालेको थियो । जुन आज देशका १० हजारभन्दा स्थानमा पुगिसकेको छ ।

जसका प्रयोगकर्ता दैनिक प्रयोगकर्ता दुई लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त सेवालाई देशका प्रमुख सहरका हरेक स्थानमा उपलब्ध गराउने गरी काम गरिरहेको समेत जनाएको छ ।

कम्पनीले दुई वर्षअघि विदेशी लगानी भित्र्याउन सफल भएको छ । कम्पनीले सीडीसीद्धारा विदेशी लगानी भित्र्याएकाे हाे । अघिल्लो वर्षमात्रै कम्पनीले देशका १४ स्थानमा १३ अर्बको लगानीमा डेटा सेन्टर स्थापना गर्ने घोषण गरेको थियो ।

प्रयोगकर्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले समय समयमा विभिन्न सेवा र प्रविधि भित्र्याइरहेको छ । यही क्रममा केही समय अघिमात्रै कम्पनीले ‘मेश वाईफाई’ प्रविधिको प्रयोग गरेको छ ।

त्यस्तै कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणकअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि बढाएको परियोजना अन्तर्गत कर्णालीजस्तो विकट क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

यसरी विभिन्न समयमा विभिन्न सेवा विस्तार गर्दै आएको कम्पनीले प्रत्यक्ष रुपमा चार हजारको हाराहारीमा रोजगारी प्रदान गरिरहेको छ ।

एकपछि अर्को गर्दै नयाँ प्रविधि र नयाँ सेवाका साथ अघि बढ्दै आएको कम्पनीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उच्चतम करदाताको रुपमा सम्मान समेत प्राप्त गरिसकेको छ ।

साथै नेपाल सरकारबाट राष्ट्रिय आईसीटी पुरस्कार समेत प्राप्त गरिसकेको छ ।

ह्याप्पी वर्थ डे वर्ल्डलिंक !

https://www.techpana.com/2021/102672/