काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा नौ हजारभन्दा बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार गत आवमा कुल नौ हजार ५२ ओटा विद्युतीय सवारी आयात भएका हुन् ।

 

जुन कुल आयात भएका सवारी साधनको दुई प्रतिशत हो । गत आवमा कुल चार लाख ७८ हजार ७२ ओटा गाडी भित्रिएका थिए । विद्युतीय सवारीसाधनमा सबैभन्दा बढी तीन पाङ्ग्रे रहेका छन् ।

विभागका अनुसार गत आवमा चार हजार सात सय ९७ ओटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन भित्रिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, धेरै आयात हुने विद्युतीय सवारी साधनको दोस्रो नम्बरमा इलेक्ट्रिक मोटरसाइकल रहेका छन् ।

 

गत आवमा कुल दुई हजार तीन सय ३३ ओटा इलेक्ट्रिक बाइक भित्रिएको उल्लेख छ । यसैगरी, सोही अवधिमा १६ सय ६१ ओटा विद्युतीय सवारी साधन विमानस्थल तथा उद्योगहरूको प्रयोजनका लागि ल्याइएका छन् ।

 

यो अवधिमा दुई सय ६१ ओटा कार, जिप, भ्यान भित्रिएको तथ्याङ्कले देखाएको छ । यसरी विद्युतीय सवारीसाधन भित्र्याउने कम्पनीमा निसान, टाटा, एमजी, महिन्द्रा र किया रहेका छन् ।

 

पछिल्लो समय विश्वव्यापी जलवायु परिवर्तन र घट्दो पेट्रोलियम पदार्थको परिणामको कारण सोलार जस्ता वैकल्पिक हरित ऊर्जाको प्रयोग बढी रहेको छ । यस्तोमा विद्युतीय सवारी साधनको माग विश्वव्यापी रूपमै रहेको छ । त्यसैले सरकारले पनि विद्युतीय सवारी आयातमा छुट समेत प्रदान गरिरहेको छ ।

भने, देशका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन निर्माण तथा विभिन्न क्षेत्रमा प्रोत्साहन गर्ने लगायतका काम समेत भइरहेका छन् । त्यसै कारणले पनि नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको आयात तथा प्रयोग बढ्दै गएको छ ।

https://www.techpana.com/2021/102914/