काठमाडौं । दूरसञ्चार क्षेत्रका दुई चिनियाँ कम्पनी ह्वावे र ओप्पोबीच उत्पन्न विवाद टुंगिएको छ ।

 

त्योसँगै यसअघि पेटेन्ट दुरुपयोग गरेको भन्दै ह्वावेले ओप्पोविरुद्ध दर्ता गराएको मुद्दा फिर्ता लिएको छ । हुन त हालसम्म दुवै कम्पनीले यो विषयमा कुनै आधिकारिक जानकारी दिएका छैनन् ।

तर, प्राप्त प्रतिवेदनअनुसार ओप्पो र ह्वावेबीच रहेको पेटेन्ट विवाद टुंगिएको छ ।

 

अब ओप्पोले नोकियासँग लड्नका लागि अन्य कम्पनीसँग सहकार्य गर्ने तयारी गरेकाे छ । जसमा जापानी कम्पनी डोकोमो, चिनियाँ कम्पनी जेडटीई तथा सिसभेलसँग पेटेन्टका लागि यसअघि नै सहकार्य गर्न लागेकाे खबर बाहिरिएकाे छ ।

 

अर्कोतर्फ नोकियासँग विवाद भएको पेटेन्ट जेडटीईसँग खरिद गर्ने निर्णयसमेत ओप्पोले गरेको छ ।

 

यसरी ह्वावेको समेत प्रतिद्वन्दी कम्पनीको रुपमा रहेका फिनल्याण्ड-बेस्ड नोकियासँग लड्न ओप्पोले तयारी थालेकाे छ । यसर्थ ह्वावे र ओप्पो एकैठाउँमा उभिने संकेत मिलेकाे छ ।

ओप्पोले फाइभजी पेटेन्ट उल्लंघन गरेको भन्दै नोकियाविरुद्ध मुद्दा दायर गरेको छ । ओप्पोले चीन र युरोपमा नोकिया विरुद्ध एकै पटक विभिन्न मुद्धा दर्ता गराएको हो । दर्ता भएका सबै मुद्दा फाइभजीसँग सम्बन्धित छन् ।

यसअघि नोकियाले पनि आफ्नो बौद्धिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै ओप्पोविरुद्ध मुद्दा दर्ता गराएको थियो ।

https://www.techpana.com/2021/102999/