धेरैका लागि यो तस्वीर पुँजीवादी असमानताको एक आदर्श तस्वीर हो । मेक्सिकोको तिजुआना सहरमा अमेजनको विशाल वितरण केन्द्रको चारैतर्फ रहेको गरिबीको तस्वीर छिमेकको सम्पन्नताको ठ्याक्कै विपरित छ ।

इन्टरनेट प्रयोगकर्ताको ध्यान यसतर्फ गएको छैन कि कसरी संसारको सबैभन्दा धनी व्यक्तिको तथा पृथ्वीको सबैभन्दा विश्वव्यापी बनेको व्यवसायको रुपमा रहेको अमेजनको नजिकै पनि दुईछाक खानका लागि तड्पिरहेको मानिसहरु बस्दछन् ।

ट्वीटरमा कसैले २ करोड १० लाख डलर लगानीको उक्त वितरण केन्द्रको तस्वीरलाई दुर्भाग्यपूर्ण भनेका छन् भने कसैले लेखेका छन्, ‘पुँजीवाद आखिर किन खराब छ ?’

भाइरल बनेको एक फोटो पत्रकारको तस्वीर

फोटो पत्रकार उमर मार्टिनेजले खिचेको एक हवाई तस्वीर सार्वजनिक भएसँगै त्यो चर्चाको विषय बन्यो र त्यसमाथि बहस छेँडियो ।

४१ वर्षका मार्टिनेज मेक्सिकोको कुआर्टोस्कोरो एजेन्सीमा कार्यरत छन् र उनी अमेरिकाको सीमाक्षेत्रमा पर्ने मेक्सिकन सहर तिजुआनामा बस्दछन् ।

मार्टिनेजले भनेका छन्, ‘मैले आफ्नो सहरमा रहेको ठूलो विसंगतिलाई देखाउने उद्धेश्यले उक्त तस्वीर खिचेको हुँ । मेरो तस्वीरले व्यापक बहस सिर्जना गरेकोमा म खुसी छु ।’

उनका अनुसार त्यो तस्वीर खिच्न निकै मुस्किल थियो, किनकी त्यो क्षेत्रमा सीमानामा पर्नुका साथै असुरक्षित पनि छ । अन्त्यमा उनले ड्रोनबाट उक्त तस्वीर खिचे ।

उक्त ठाउँ एउटा ढल नहरको छेउँमै छ । त्यहाँ धेरै गुण्डाहरु तथा लागुऔषत कारोबारी बस्दछन् । त्यसैले त्यो निकै असुरक्षित ठाउँ हो ।

विश्वव्यापी पुँजीवाद

क्यालिफोर्निया विश्वविद्यालयको वैश्विक अध्ययन विभागका सहायक प्राध्यापक चार्माइन चुआले यस विषयमा ट्वीटरमा लेखेका छन्, ‘नयाँ तिजुआना डिसी वितरण केन्द्र स्थानीय बजारको आवश्यकताका लागि बनेको होइन । यसले सीमापारबाट आयात भएर आउने मालसामानलाई छुट्टाउनका लागि मेक्सिकोका अतिशोषित श्रमिकलाई रोजगारी दिनेछ ।’

चुआका अनुसार यो क्षेत्र लस एन्जल्स लंग बीचको बन्दरगाह परिसरको नजिकै छ र अमेजनले आफ्नो ४० प्रतिशत व्यापारका लागि यसको प्रयोग गर्दछ ।

अमेरिका र चीनबीच व्यापार युद्ध तिव्र बनेको छ । त्यसैले भन्सारका कारण दुई देशबीचको सिधा व्यापार निकै महंगो बनेको छ ।

चुआ भन्छन्, ‘अनि यसको सामाधान के त ? मेक्सिको ।’

सस्तो श्रम

अमेरिका-मेक्सिको सीमामा बन्दोबस्तीका विषयमा शोध गरिरहेका क्यालिफोर्निया इरविन विश्वविद्यालयका शोधकर्ता स्पेन्सर पोटिकरका अनुसार अमेरिकाको तुलनामा मेक्सिकोमा श्रमको लागत निकै कम छ ।

उनी भन्छन्, ‘अमेरिकामा एकजना कर्मचारीको ज्याला कम्तिमा १५ डलर प्रतिघण्टा छ, जबकि मेक्सिकोमा यो २ देखि ४ डलर सम्म मात्रै रहेको छ ।’

तिजुआनामा रहेको अमेजनको वितरण केन्द्रले विश्वव्यापी असमानताको प्रतिनिधित्व गर्दछ र सीमाको दुबैतर्फ वितरण केन्द्रहरुको विकासको बढ्दो प्रवृत्तिलाई पनि देखाउँदछ ।

मैक्सिको में अमेज़ॉन का एक गोदाम, तिजुआना

रोयटर्सले गत अप्रिलमा प्रकाशित गरेको एक रिपोर्टले मेक्सिको सिटी नजिकै रहेको अमेजनको एक वितरण केन्द्रमा कर्मचारीहरुलाई निर्धारित समयभन्दा बढि काम गर्न बाध्य पारिएको खुलासा गरेको थियो । उक्त रिपोर्ट अनुसार धेरै काम नगर्ने मजदुरहरुलाई कामबाटै निकालिएको थियो ।

अमेरिकामा काम गर्ने माहौल पनि विवादले घेरिएको छ । गत वर्षको अप्रिलमा अमेजनले आफ्ना केही गाडी चालकहरुले कम समयमै सामान आपूर्ति गर्नुपर्ने बाध्यताका कारण बोतलमै पिसाब फेर्नुपर्ने बाध्यता रहेको स्विकार गरेको थियो ।

वितरण केन्द्रबाट विकास

सोसल मिडियामा अमेजनको वितरण केन्द्र निकै विवादित बने तापनि तिजुआनाका मेयर भने त्यस्तो आलोचनालाई खारेज गर्दछन् । अमेजनको गोदाम तथा वितरण केन्द्रका कारण त्यस ठाउँको विकास हुने उनको दाबी छ ।

उनका अनुसार नयाँ लगानीबाट नयाँ रोजगारी सिर्जना हुन्छन् र आर्थिक गतिविधिमा बढोत्तरी हुन्छन् जसले त्यहाँका बासिन्दालाई नै लाभ पुग्दछ ।

मैक्सिको में अमेज़ॉन का एक गोदाम, तिजुआना

अमेजन कम्पनीको भनाई पनि त्यस्तै छ । आफ्नो कम्पनीले जुन देशमा सञ्चालित हुन्छ सो देशको विकासका लागि आफु प्रतिबद्ध हुने अमेजनको दाबी छ । अमेजनका अनुसार तिजुआनास्थित सो गोदाम मेक्सिकोमा रहेको अमेजनको ११ औँ गोदाम हो ।

अमेजनले भनेको छ, ‘मेक्सिकोमा आएसँगै हामीले १५ हजार भन्दा धेरैलाई रोजगारी दिइसकेका छौँ । अहिले हामी तिजुआनामा २ सय ५० जनालाई रोजगारी दिइरहेका छौँ । हामी सबै कर्मचारीहरुलाई राम्रो तलब र लाभका साथै रोजगारीको अवसर दिइरहेका छौँ ।’

https://www.onlinekhabar.com/2021/09/1015413