काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली ‘एनसीएचएल-आईपीएस’ बाट ३ बजेसम्म कारोबार हुने भएकाे छ ।

 

बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्धसरकारी संस्थालगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा काराेबार समय थप गरिएकाे हाे ।

एनसीएचएल आईपीएस प्रणालीमा विहानको ९ बजेदेखि दिनको ३ बजेसम्म (आइतबारदेखि बिहीवारसम्म नेपाली मुद्रा र सोमवारदेखि बिहीवारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमानै फर्छ्यौट हुने व्यवस्था यही असोज ४ देखि लागू हुने भएको छ ।

 

यसअघि बिहानको १० बजेदेखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुनेगरेको छ । उक्त समय सीमा वृद्धिपछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने छ ।

 

त्यसैगरी दिनको ३:३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुनेछन् ।

 

शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाइएको छ ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढेसँगै एनसीएचएल आईपीएसमा वृद्धि भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ ।

यो प्रणालीमार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीय सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेकबिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ ।

 

हाल यस प्रणालीमा ५९ बैंक वित्तीय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणालीमार्फत प्रतिकारोबार रु. २० करोडसम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी रु= ३० करोडसम्म, ट्रेजरी पेमेन्टसम्बन्धी भुक्तानी रु. ५० करोडसम्म र सरकारी भुक्तानी रु. २ अर्बसम्म गर्न सकिन्छ ।

हाल एनसीएचएल आईपीएसमार्फत भुक्तानी कारोबारहरु बैंक⁄वित्तीय संस्थाको शाखा, कर्पोरेट⁄बिजनेस च्यानल, कर्पोरेट प्रणाली प्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) लगायतका च्यानलहरुमार्फत गर्न सकिन्छ । हाल एनसीएचएल आईपीएसको कारोबार शुल्क रु. २ देखि रु. १० सम्म रहेको छ ।

https://www.techpana.com/2021/103129/