७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका छन् ।

एमालेले चालु अधिवेशन शुरु भएकै दिन २३ साउन २०७८ देखि प्रतिनिधिसभामा निरन्तर नाराबाजी गर्दै आएको छ । नाराबाजीकैबीच बजेट र बजेट आश्रित विधेयकहरु प्रतिनिधिसभाबाट पारित भएका छन् । तर, एमालेका सांसदहरुको निरन्तरको नाराबाजीका कारण आफूले बजेटसम्बन्धी विधेयकमाथि धारणा राख्न नपाएको, निर्वाचन क्षेत्रको समस्या राख्न नपाएको सांसद थापाले बताए ।

‘(संसदमा) टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रह्यो’ बिहीबार प्रतिनिधिसभा बैठकपछि पूर्वमन्त्री समेत रहेका सांसद थापाले पत्रकारहरुसंग भने । व्यक्तिगत रुपमा केपी शर्मा ओलीलाई संसदसंग घृणा लाग्ने र त्यो धारणा व्यक्तिबाट पार्टीमा पुगेको सांसद थापाले बताए ।

थापाको भनाइको सम्पादित अंश 

आज नेपाल कम्युनिस्ट पार्टी एमालेको कारणले गर्दा एमालेका सांसदले मात्र होइन, हामी कुनै पनि सांसदले संसदभित्र आफ्नो भूमिका निर्वाह गर्न पाएका छैनौं । यत्रो महत्वपूर्ण विधेयक (बजेट र बजेट आश्रित विधेयकहरु) पारित हुँदै गर्दा मैले सांसद भएर भूमिका निर्वाह गर्न पाइनँ, एउटा प्रश्न राख्न पाइनँ, आफ्नो मत राख्न पाइनँ ।

म टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रह्यो । संसदभित्र बस्दै गर्दा मेरो मन कुँडिएको छ । मलाई राष्ट्र ऋण उठाउने विधेयकमा बोल्नु थियो, आर्थिक बिधेयकमा बोल्नुथियो । मेरा दर्जनौं कुरा सरकारसामु राख्नुथियो । मेरा दर्जनौं विमतिहरु थिए तर, नाराबाजी भइरहेको बीचमा बोल्न मलाई शोभा दिएन ।

संसदभित्र नाराबाजी के का लागि ? आज संसदबाट बजेट पारित भयो, यो बजेटभित्र प्रमुख प्रतिपक्षी दलको हैसियतले उठाउनुपर्ने प्रश्नहरु छैनन् ? संसदलाई यसैगरी पंगु बनाइराख्ने ? एमालेले जुन विषय उठाएको छ के त्यो सभामुखले पूरा गर्न सक्नुहुन्छ ? सर्वोच्च अदालतमा बहस भइरहेको विषय संसदमा प्रवेश गर्न सक्छ ? संसद प्रवेश गर्न सक्दैन भन्ने कुरा पूर्वप्रधानमन्त्री ओलीलाई राम्रोसँग थाहा छ ।

तर, उहाँहरु नाराबाजी गरिरहनुभएको छ । मलाई अप्ठेरो के लागेको छ भने व्यक्तिगत रुपमा सांसद केपी ओलीलाइ संसदसँग घाृण लाग्छ भन्ने लागेको थियो । अहिलेको हर्कत हेर्दा व्यक्तिको घृणा सिंगो नेकपा एमाले पार्टीमा पुग्यो भन्न कर लागेको छ ।

पूर्वप्रधानमन्त्री ओलीलाई संसद देख्नै हुन्न । जतिखेर संसदले प्रधानमन्त्री बनायो । उहाँले आफ्नो कार्यकालभरि संसदलाई हेप्नुभयो । संसदलाई बेवास्ता गर्नुभयो । संसद भंग गर्नुभयो, एक पटक होइन पटक/पटक । संसद पुनर्स्थापित भइसकेपछि उहाँलाई संसदसंग यति घृणा लाग्छ कि यो संसदलाई पंगु बनाउँदैहुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री ओलीको संसदप्रतिको जुन धारणा छ, त्यो सिंगो एमालेको धारणा बनाउने कुरा नेकपा एमालेको लागि र नेपालको संसदका लागि पनि यो अत्यन्तै अप्रिय बन्न सक्छ ।

एमालेले उठाएको विषय सभामुखले जुन ढंगले सम्बोधन गर्नुभयो त्यो विषय फरक ढंगले संम्बोधन गर्न सक्नुहुन्थ्यो भनेर धारणा राख्ने, जनताको बीचमा लिएर जाने सबै छुट उहाँहरुलाई छ । तर संसदलाई आफ्नो धारणाको आधारमा बन्धक बनाएको छ । प्रतिपक्षले कहिलेकाहीँ संसद बन्द गरेर प्रयोग गर्न सक्ने हतियारको पनि चरम दुरुपयोग भयो । यो एमालेको गैरजिम्मेवारीपन होइन ? यो तरिकाबाट संसद चल्दैगर्दा यसले संसदीय पद्धतिको गरिमा राख्छ ?

प्रमुख प्रतिपक्षी दलको हैसियत के बनाइदिएको छ ? नारा, नाराबाजी गर्ने । लाज लागेर ठूलो ठूलो नेताहरु नारा लगाउन आउन छाड्नुभएको छ । नेकपा एमालेका ठूला ठूला सांसदहरु भाग्नुहुन्छ पछाडिको ढोकाबाट । लाज लाग्छ उहाँहरुलाई सामना गर्न । कसले आएर भन्न सक्नुहुन्छ कहिलेसम्म यसरी संसद चलाउने ?

एक दिन/दुई दिन (नाराबाजी) चल्यो ठीक छ । तर, यसलाई अनन्तकालसम्म राख्न हुन्छ र ? आजभोलि त संसद आउन छाड्नुभयो एमालेका ठूलो नेताहरु । अरु सांसदहरु आउने नारा लगाउने जाने । विस्तारै विस्तारै यो बानी बस्दै जान्छ । यही तरिकाबाट विधेयक आउने, यही तरिकाबाट विधेयक पारित गर्दै जाँदै गर्दा संसदको गरिमा रहँदैन ।