७ असोज, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ’ उनले भने ।

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको एसपी सिंहले बताए ।

पक्राउ परेका घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए ।

https://www.onlinekhabar.com/2021/09/1017772