काठमाडौं । चीनको केन्द्रीय बैंकले शुक्रबार सबै किसिमका क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानूनी घोषित गरेको छ । गैरकानूनी तथा आपराधिक गतिविधिलाई जन्म दिने काम गरेको भन्दै चीनले आफ्नो देशभित्रको क्रिप्टोकरेन्सी उद्योगलाई समाप्त पार्ने कदम चालेको हो ।

 

‘भर्चुअल मुद्रा सम्बन्धी व्यवसायिक गतिविधि गैरकानूनी वित्तीय गतिविधि हुन्,’ पिपुल्स बैंक अफ चाइनाको वेबसाइटमा भनिएको छ । सूचना अनुसार बेइजिङले क्रिप्टोकरेन्सी व्यवसायलाई सहयोग पुर्‍याउने सबै किसिमका वित्तीय संस्था, भुक्तानी कम्पनी र इन्टरनेटका माध्यममाथि प्रतिबन्ध लगाउनेछ ।

क्रिप्टोकरेन्सी सम्बन्धी चीनको यो घोषणासँगै बिटक्वाइनको मूल्य ४४ हजार अमेरिकी डलरभन्दा तल झरेको छ । साथै क्रिप्टोकरेन्सी उद्योगलाई निमिट्यान्न पार्ने बेइजिङको नियमनकारी व्यवस्थाले विश्वकै क्रिप्टोकरेन्सीलाई अस्थिर तुल्याइदिएको छ ।

 

क्रिप्टोकरन्सी व्यापारका कारण आर्थिक तथा वित्तीय व्यवस्था खलबल्याउने अवैध तथा आपराधिक जुवा बाजी, गैरकानूनी रकम संकलन, पिरामिड शैलीका ठगी र मनी लाउन्डरिङ जस्ता गैरकानूनी र आपराधिक गतिविधिहरूलाई जन्म दिने र जनताको सम्पत्तिको सुरक्षामा गम्भीर रुपमा खतरामा पार्ने काम गरेको छ ।

https://www.techpana.com/2021/103820/