चितवन, असोज ७ –
जिल्ला प्रहरी कार्यालय चितवनले ह्याण्डिल लक गरेर राखे पनि मोटरसाइकल चोरी हुने गरेको पाइएको बताएको छ ।

मोटरसाइकल चोरीको विरुद्ध चितवन प्रहरीले सञ्चालन गरेको अप्रेशनको एक महिना पूरा भएको अवसरमा आज बिहीबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक (एसपी) ओम अधिकारीले सो जानकारी दिएका हुन् ।

यो एक महिनामा १३ वटा चोरीका मोटरसाइकलसहित उक्त मोटरसाइकल चोरी कार्यमा संलग्न रहेका १६ जनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।

चोरसँग ह्याण्डिल लक सजिलै खोल्न सक्ने आइडिया हुँदो रहेछ भन्दै उनले मोटरसाइकलमा ह्विल लक तथा डिस लक गर्न सबै सर्वसाधारण समक्ष आग्रह गरेका छन् ।

एउटा च्यानेल बनाएर मोटरसाइकल चोरी हुने गरेको पाइएको उनको भनाइ छ । पक्राउ परेका १६ जनामा कोही मोटरसाइकल ल्याएर ग्यारेजमा दिने छन् भने कोही मोटरसाइकल बेच्ने कार्यमा संलग्न रहेका छन् । कोही नक्कली सवारी दर्ता किताब (बिलबुक) बनाउने कार्यमा संलग्न रहेको उनले बताए । नक्कली बिलबुक बनाएर चोरी मोटरसाइकल लिएर हिँड्ने गरेको सम्म पाइएको हो ।

भरतपुर २१ का टेजन पुनले भरतपुरको चौबिस कोठीमा सञ्चालन गर्दै आएको न्यू आर टी मोटरसाइकल वर्कसप (ग्यारेज) बाट चोरीका अधिकांश मोटरसाइकल किनबेच हुने गरेको पाइएको एसपी अधिकारीले जानकारी दिए ।

चोरीको मोटरसाइकल किन्न चाहने व्यक्तिले मलाई यो कलरको यो मोटरसाइकल चाहियो भनेर माग गरि सकेपछि बल्ल चोरहरु त्यही मोटरसाइकल खोज्दै चोर्न हिँड्ने गरेको समेत पाइएको उनको भनाइ छ ।

एसपी अधिकारी अनुसार नियन्त्रणमा लिइएका अधिकांश मोटरसाइकलहरु काठमाडौंबाट चोरेर चितवन ल्याइएका छन् । चितवनबाट चोरी भएका अधिकांश मोटरसाइकल बिरगञ्जतर्फ र नवलपरासीका पहाडतर्फ लगिने गरेको पाइएको उनले बताए । एक ठाउँबाट चोरी गरी अर्काे ठाउँमा लगेर बेच्ने गिरोह नै सक्रिय रहेको पाइएको उनले जनाए । चोरी भएका अधिकांश मोटरसाइकलको धनीसम्म अझै पनि पुग्न नसिकएको बताउँदै उनले थप अनुसन्धान जारी नै रहेको बताए ।

https://narayanionline.com/2021/09/23/142347/