काठमाडौं । एप्पलले हालै मात्र सार्वजनिक गरेको आईफोन १३ सिरिजका फोनहरूमा एकपछि अर्को गर्दै बग अर्थात सुरक्षा कमजोरी देखिन थालेका छन् । फोन प्रयोगकर्ताको हातमा पुगेको केही दिन पनि नबित्दै फोनमा अनेकौँ बगहरू फेला परेका हुन् ।

 

उत्पादन बाहिर ल्याएपछि बजारमा यसको प्रतिक्रिया बटुल्नु पर्ने बेलामा एप्पल एकपछि अर्को बग समाधान गर्न व्यस्त भएको छ । एप्पलले दुई हप्ता अगाडि आईफोन थर्टिन, आईफोन थर्टिन मिनी, आईफोन थर्टिन प्रो र आईफोन थर्टिन प्रो म्याक्स लगायतका उत्पादन सार्वजनिक गरेको थियो ।

आईफोन थर्टिन प्रो बजारमा आएको एक दिन पनि नबित्दै प्रयोगकर्ताले फोनको सफ्टवेयरमा बग भेटाएको रिपोर्ट गरेका छन् । आईफोन थर्टिन प्रोको १२० हर्जको ‘प्रोमोसन’ डिस्प्लेमा पनि थर्ड पार्टी एपका एनिमेसन ६० हर्जमा मात्र सीमित भएको प्रयोगकर्ताहरूले बताएका छन् । यसलाई एप्पलले आईओएस १५ को बग भएको बताएको छ ।

 

आँउदो सफ्टवेयर अपडेटसँगै यो समस्या समाधान हुने कम्पनीले जनाएको छ । तर समस्या यति मात्र होइन, फोनमा वाईफाई कनेक्सन जोडिसकेपछि स्टाटस बारमा वाई-फाईको सिम्बोल नै देखिँदैन ।

 

त्यस्तै गरी भीपीएन इनेबल गर्न पनि समस्या भएको, आईफोन थर्टिन प्रो र एप्पल वाच पनि कनेक्ट नहुने समस्या देखिएको छ । त्यस्तै दुई ओटा डिभाइसबीचमा पनि राम्रोसँग कनेक्सन नहुने समस्या देखिएको छ ।

 

धेरै जना प्रयोगकर्ताहरूले भने ‘कारप्ले’ फिचरले काम नगरेको र बेला बेला अडियो बच्दा बच्दै बीचैमा रोकिने समस्या आएको भन्दै रेडइटमा रिपोर्ट गरेका छन् ।

त्यस्तै ‘ट्याप टु वेक’ फिचरमा पनि बेलाबेला रोकिने समस्या भएको प्रयोगकर्ताले रिपोर्ट समेत आइरहेका छन् । हतार हतारमा बजारमा आएका कारण पनि यसमा धेरै कामहरू गर्न बाँकी नै रहेको हुनसक्ने प्रयोगकर्ताको बुझाई रहेको छ । एप्पलले भने क्रमश: समस्याहरू समाधान हुदैँ जाने बताएको छ ।

https://www.techpana.com/2021/104067/