११ असोज, काठमाडौं । ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको छ ।

बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । ‘ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो’, उनले भने, ‘समस्या पहिचानपछि जहाज पुनः उडिसकेको छ ।’

बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् ।

आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो ।

https://www.onlinekhabar.com/2021/09/1018992