काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्टरनेटको पोल भाडा बढाउनुको कारण खुलाएका छन् । विद्युतको भन्दा सञ्चार क्षेत्रमा धेरै नाफा रहेको भन्दै उनले पोलभाडा बढाउने आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

 

नेपालको सूचना प्रविधि क्षेत्रमा विद्युत प्राधिकरणको पूर्वाधारले ठूलो सहयोग पुर्‍याइरहेको छ  । विद्युतको हाइटेन्सन लाइनमा रहेको माथिल्लो तार (ओपीजीडब्लू) नरहेको भए नेपालभर यति छिट्टै  सञ्चार गर्न सम्भव थिएन ।

 

प्राधिकरणले सबै ट्रान्समिसन लाइनमा यस्तो ओपीजीडब्लू केबल राखेको छ । त्यसैबाट इन्टरनेट तथा डेटा प्रवाह भइरहेको हुन्छ । त्यसका साथै गाउँगाउँमा विद्युतिकरण भएको छ ।

 

जसमार्फत फाइबर इन्टरनेट घरघरमा पुग्न सम्भव भएको हो । नेपाल विद्युत प्राधिकरणले यसरी इन्टरनेटको सहायक पूर्वाधारको रुपमा रहेको विद्युत पोलको भाडा बढाएको छ ।

 

जसको प्रतिफल स्वरुप इन्टरनेट सेवाप्रदायकले समेत इन्टरनेटको मूल्य बढाउने घोषणा गरिसकेका छन् । फाइबर तान्दा लाग्ने विद्युत पोलको भाडा बढाएपछि इन्टरनेटको ट्यारिफ बढाउने घोषणा आएको विषयमा आफू समेत जानकार रहेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

 

मंगलबार राजधानीमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले घुमाउरो पारामा सञ्चार क्षेत्रको नाफा बढी रहेकाले त्यसमा आफूहरूको समेत हिस्सेदारी हुनुपर्ने तर्क गरे । ‘५० लाखको सङ्ख्यामा रहेका घरेलु ग्राहकबाट हामीले वार्षिक रुपमा करिब ३० अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छौँ,’ उनले अगाडि भने तर, ‘सञ्चार क्षेत्रमा टेलिकम र इन्टरनेट सेवाप्रदायकले तिनै ग्राहकबाट कूल डेढ खर्ब कमाउँदै आएका छन् ।’

अहिले हरेक विद्युत पोलमा प्रत्येक इन्टरनेट सेवाप्रदायकले आफ्नो केबल तानिरहेको उल्लेख गर्दै घिसिङले कुनै केबलमा समस्या आउँदा त्यसलाई हटाउने जाँगर समेत उनीहरूले नगरेको बताए ।

‘बरु त्यसैसँग अर्को नयाँ केबल राख्ने गरिएको छ । यसरी अहिले बिजुलीका पोलमा रहेका कूल केबल मध्ये करिब ९५ प्रतिशत काम नलाग्ने अवस्थाका होलान् । यसरी अनावश्यक रुपमा तार थुप्रिँदा हाम्रा पोल ढल्ने अवस्थामा पुगेका छन् ।’

 

यस किसिमको अवस्थाको अन्त्य गर्नका लागि समेत प्राधिकरणले पोल भाडा बढाउने निर्णय लिएको उनको जिकिर थियो । ‘दुईचार तार ताने पनि पुग्ने अवस्था हुन्छ र त्यसैलाई साझा गरेर प्रयोग गरे अहिलेको लागत पनि कम हुन्छ,’ उनले भने, ‘हामीले त्यसैअनुरूप पोलभाडा बढाउने निर्णय लिएका हौँ । यसो गर्दा विद्युत प्राधिकरणको आम्दानी २५ करोडबाट बढेर ५० करोड पुग्ला । वास्तवमा यो ठूलो विषय होइन ।’

देशव्यापी रुपमा विद्युत पोल राख्न प्राधिकरणले ३० खर्ब लगानी गरिसकेको भन्दै त्यसैबाट सञ्चार क्षेत्रले डेढ खर्ब रुपैयाँ जनताबाट उठाइरहेको उनको भनाई छ । ‘टेलिकम र एनसेलको आम्दानी मात्रै एक खर्ब १०-१५ अर्ब छ । त्यसमा इन्टरनेट सेवाप्रदायकको समेत आम्दानी जोड्दा कम्तिमा डेढ खर्ब पुग्छ,’ उनले भने ।

तर उनको यो आँकडामा भने सत्यता छैन । हाल टेलिकम र इन्टरनेट सेवाप्रदायको कूल आम्दानी करिब एक खर्ब रुपैयाँभन्दा कम छ । डेढ खर्ब आम्दानी गरिरहेका इन्टरनेट र टेलिकम सेवाप्रदायकबाट वार्षिक ५० करोड उठाउने कुरा ठूलो कुरा नभएको घिसिङको बुझाई छ ।

‘त्यसैले यो विषयलाई सहज रुपमा हेर्नुपर्छ,’ उनले भने, ‘हामी सहकार्य गरेरै जाने मनसायमा छौँ । बाधा अवरोध गरेर जाने पक्षमा छैनौँ ।’ अहिले विद्युत केबल अन्डरग्राउन्ड गर्ने कार्य चलिरहेको भन्दै उनले त्यसमा तीन ओटा डक्ट राख्न थालिएको बताए । त्यसमध्ये दुई ओटा डक्ट अप्टिकल फाइबरका लागि प्रयोग गर्न सकिने घिसिङको भनाई थियो ।

https://www.techpana.com/2021/104136/