काठमाडौं । बढाइएको मूल्य अनुसार पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालेको छ । प्राधिकरणले शनिबारदेखि देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरेको हो ।

 

इन्टरनेट सेवा प्रदायकले बढेको मूल्य अनुसार पोल भाडा नतिरेको र पुरानो बक्यौता पनि नतिरेको भन्दै प्राधिकरणले पैसा उठाउन पटक पटक ताकेता गरिरहेको थियो । प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै असोज १५ भित्र पोल भाडा नतिरे तार काट्ने चेतावनी दिएको थियो ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) बाट टेकपानालाई प्राप्त विवरण अनुसार प्राधिकरणले तार काट्दा भरतपुरका केही स्थानमा इन्टरनेट सेवा प्रभावित भएका न् । यस्तै बुटवलको मणिग्राम, क्षेत्रमा पनि प्राधिकरणले इन्टरनेटको तार काटेको छ ।

ध्नगढी, ताप्लेजुङ, काठमाडौंको इमाडोल, कीर्तिपुर क्षेत्रमा पनि केही सेवा प्रदायकको तार काटिएको छ । यस्तै, विराटनगरको टाँकी, धरानको केही क्षेत्र र धनकुटामा पनि प्राधिकरणका कर्मचारीले केही इन्टरनेट प्रदायकले इन्टरनेट विस्तारको लागि प्रयोग गरेको तार काटेको छ ।
संघका अध्यक्ष सुधीर पराजलीका अनुसार प्राधिकरणले तार काट्दा सबैभन्दा बढी प्रभाव भरतपुर क्षेत्रमा परेको छ । ‘प्राधिकरणले आफ्नो ओपीजी केबलबाट इन्टरनेट दिन बन्द गरिदिएको छ,’ उनले भने,‘जसका कारण भरतपुरका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ ।’

विद्युत् प्राधिकरण स्रोतका अनुसार अहिले बक्यौता तिर्नको लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआएका साना सेवा प्रदायकको तार काटिएको छ । ‘यो सांकेतिक रुपमा गरिएको काम हो,’ प्राधिकरण स्रोतले भन्यो,‘ठूला सेवा प्रदायकका तार काट्दा इन्टरनेट सेवा प्रभावित हुने भएकाले साना सेवा प्रदायक र थोरै प्रभाव पर्ने ठाउँमा मात्रै काटिएको हो ।’

प्राधिकरणले तीन वर्षअघि अस्वभाविक रुपमा विद्युत्को पोल भाडा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले विरोध गर्दै आइरहेका छन् । उनीहरुले प्राधिकरणले बढाइएको भाडा तिर्दा इन्टरनेटको मूल्य बढ्ने भन्दै नतिर्ने अडान लिइरहेका छन् ।

https://www.techpana.com/2021/104583/