चितवन । नेपाल विद्युत प्राधिकरणले शनिबार पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि अवरुद्ध बनेको इन्टरनेट सेवा आज आइतबार पनि सञ्चालनमा आउन सकेको छैन ।

सेवा प्रदायकले विरोधस्वरुप आज आइतबार इन्टरनेट सट डाउन गरेका छन् । पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवन जिल्लाभर नै इन्टरनेट सेवा अवरुद्ध बनेको सेवा प्रदायकहरुले जनाएका छन्। सरकारी कार्यालयदेखि बैंक तथा बित्तीय संस्थाका सबै सेवा ठप्प भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई समस्या समाधानको लागि छलफलमा बोलाएका छन् ।

कुनै पनि बहानामा इन्टरनेट सेवा अवरुद्ध गर्न नहुने भन्दै उनले छलफलबाट सहमति गरिने र तत्काल इन्टरनेट सेवा सञ्चालनमा ल्याउने बताए । इन्टरनेट अवरुद्ध भएपछि सरकारी कार्यालय र बैंकलगायत विभिन्न क्षेत्रका काम ठप्प भएका छन् । जसका कारण सेवाग्राहीले दुःख पाएका छन् ।

प्राधिकरणको भरतपुर वितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला इन्टरनेट सेवा प्रदायकको तार काटेपछि इन्टरनेट सेवा आइतबार पनि अवरुद्ध बनेको हो । नेटको तार काटेपछि लगत्तै सेवा प्रदायकका कर्मचारीहरुले भरतपुरमा विरोध -याली निकालेका थिए । पोल भाडा तिर्ने विषयमा सेवा प्रदायक र प्राधिकरणबीच विवाद रहेको छ । उनीहरुको विवादका कारण आम सेवाग्राहीहरु मारमा परेका छन् । चर्को इन्टरनेटको शुल्क तिरेर पनि सेवाग्राहीहरुले सेवा पाउन सकेका छैनन् ।

https://echitwanpost.com/151908/2021100312/18/50/