काठमाडौं । २४ खर्बको लगानीमा इन्टेलले अरिजोनामा दुई ओटा चिप प्लान्ट निर्माण गरिरहेको छ । तर, उक्त प्लान्टको निर्माण समयमै नसकिँदा कार निर्माता र अन्य इलेकट्रोनिक्स डिभाइस निर्माण गर्ने कम्पनीमा देखिएको चिप अभाव अन्त्य हुन सकेको छैन ।

इन्टेल विश्वकै सबैभन्दा ठुलो मध्येको एक चिप निर्माता कम्पनी हो । यसले डेक्सटप, ल्यापटप, मोबाइल र कारका लागि आवश्यक पर्ने चिप उत्पादन गर्दै आएको छ । कम्पनीले प्रयोगकर्तालाई कस्टम चिप उपलब्ध गराउने प्रयास पनि गरिरहेको छ ।

यसका लागि कम्पनीले चिप डिजाइनर र सफ्टवेयर डेभलपरसँग सहकार्यमा चिप निर्माण गर्ने प्रक्रिया प्रयोगकर्तालाई बुझाउने प्रयास पनि गरेको थियो । तर, त्यसमा कम्पनी सफल हुन सकेन । यस्तोमा कम्पनीले थप नयाँ प्लान्ट निर्माण अघि बढाएको हो ।

हाल दुई वटा प्लान्ट निर्माणको काम सम्पन्न हुन लागेको कम्पनीले जनाएको छ । यो वर्षको अन्त्यतिर कम्पनीले थप दुई नयाँ प्लान्टको तयारी गरिरहेको छ । यी सबै प्लान्ट एकै स्थानमा निर्माण हुनेछन् । अमेरिकी सरकारको दबावका कारण पनि कम्पनीले एकपछि अर्को गर्दै एकै स्थानमा प्लान्ट थप गरिरहेको छ ।

ताइवानको चिप मेकर कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन (टीएसएमसी) सँग प्रतिस्पर्धा गर्न सक्ने गरी उत्पादन बढाउने इन्टेलको उद्देश्य हो । चिप बजारमा टीएसएमसी सबैभन्दा अघि छ । टीएसएमसीले निर्माण गरेको चिप अमेरिकाको सुरक्षा निकायले समेत प्रयोग गर्दै आएको छ ।

https://www.techpana.com/2021/104786/