काठमाडौं । ‘डोमेन नेम’ (डोमेनको नाम) तपाईँको डिजिटल उपस्थितिको मेरुदण्ड हो ।  विशेष गरी यदि तपाईं आफ्नो  डिजिटल उपस्थितिमा आफ्नो  व्यवसाय गर्न खोज्दै हुनुहुन्छ भने ‘डोमेन नेम’ निकै महत्वपूर्ण हुन्छ ।

‘डोमेन नेम’ एउटा वेबसाइटको भौतिक नाम हो । तपाईँको भौतिक ठेगाना वा फोन नम्बर जस्तै, डिजिटल संसारमा दुई समान ‘डोमेन नेम’ हुन सक्दैनन् ।

‘डोमेन नेम’ लाई आईपी एड्रेसको पोइन्टर भनेर पनि बुझ्न सकिन्छ | तपाईले आफ्नो ब्राउजरको एड्रेस बारमा सर्च गर्ने ‘डोमेन नेम’ (जस्तै facebook.com ) को आईपी एड्रेस (69.63.184.142) लाई ब्राउजर (क्रोम, एज, फायरफक्स आदी ) ले पहिचान गर्छ र सम्बन्धित वेब  पेजमा पुर्‍याउँछ ।

‘डोमेन नेम’ भनेको मानिसहरूलाई तपाईंको वेबसाइटमा पहुँच  राख्न सजिलो बनाउनको लागि हो । त्यसैले यो सरल र सजिलै याद गर्न सकिने किसिमको राख्दा उपयुक्त हुन्छ ।

‘डोमेन नेम’ गोड्याडी (godaddy.com), ओहो डोमेन (Ohodomain.com) जस्ता अनलाइन मार्केटमा गएर किनबेच गर्न पनि सकिन्छ । राम्रो ‘डोमेन नेम’को महत्त्व धेरै छ र त्यसको अभाव पनि | राम्रा  डोमेन नामहरूको बजारमा उच्च माग छ ।  केही ‘डोमेन नेम’ लाखौँ डलरमा बिक्री हुन्छन् ।

‘डोमेन नेम’का ३ भाग

कुनै पनि वेब पेज जस्तै ‘www.example.com’ मा ‘.com’  टप लेभल डोमेन, ‘example’ सेकेन्ड लेभल डोमेन र ‘www’  सब डोमेन हो । ‘टप लेभल डोमेन’लाई ‘एक्स्टेन्सन’ पनि भन्ने गरिन्छ । केही धेरै प्रयोग हुने ‘टप लेभल डोमेन’ (TLD) यस्ता छन् ।

१. ‘.com’

 

२. ‘.net’

३. ‘.org’

४. ‘.edu’

देश अनुसार ‘टप लेभल डोमेन’ फरक फरक पनि हुन सक्छन् । जस्तै;

 

१. ‘.au’ (अस्ट्रेलिया)

२. ‘.ca’ (क्यानाडा)

३. ‘.de’ (जर्मनी)

४. ‘.np’ (नेपाल)

‘सेकेन्ड लेभल डोमेन’ टप लेभल डोमेन (TLD) सँग जोडिने तपाईको डोमेन नाम हो । जस्तै,

१. example.com

२. example.net

३. example.np

‘सब डोमेन’

‘सब डोमेन’  ठुलो डोमेनको एउटा अंश मात्र हो, यो वैकल्पिक हुन्छ ।

१. www.example.com

२. mail.google.com

३. drive. google.com

https://www.techpana.com/2021/105034/