काठमाडौं । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ ।  तत्कालका लागि आवश्यक तयारी नपुगेको भन्दै यातायात व्यवस्था विभागले दशैँलगत्तै नयाँ आवेदन खुलाउने तयारी गरेको हो ।

यसअघि यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो । विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सरकारको तयारी नपुगेपछि दशैँपछिका लागि सारिएको जानकारी दिए ।

गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो । यसैबीच प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो । कारोना महामारी अघिसम्ममा नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजारको सङ्ख्यामा रहेको थियो ।

लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । विभागमा सबै प्रक्रिया पुरा गरी परीक्षा उत्तीर्ण गरिसकेका सवारी चालकका लागि सात लाख प्रति लाइसेन्स छपाइ गर्न अझै बाँकी छ ।

सात लाख सेवाग्राहीले करिब डेढ वर्षदेखि स्मार्ट लाइसेन्स कुरिरहेका छन् । कार्ड अभाव भएपछि छपाइको काम रोकिएको हो । महानिर्देशक घिमिरेका अनुसार कार्ड आउन कम्तीमा एक महिनाको समय लाग्नेछ । त्यसका लागि डेलिभरी अर्डर यस अघि नै भइसकेको छ।

तिहारसम्ममा कार्ड आइसक्ने र त्यसपछि मात्र छपाइको काम सुरु हुनेछ । ‘यसका लागि  फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याउँदैछौँ,’ उनले भने । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि छपाइको काम बाँकी रहँदै आएका छ ।

यसैबीच सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको समेत विभागले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सूचना पठाइसकिएको र नयाँ मन्त्री नियुक्त भएसँगै राजपत्रमा प्रकाशन हुने विभागको विश्वास छ ।

सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याइएको हो । बीचमा केही समय स्थगित भएको इम्बोस्ड नम्बर प्लेट २०७७ साउन १ बाट पुनः नियमित गरिएको थियो । अहिले इम्बोस्ड नम्बरप्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिको विभागले जनाएको छ । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गरेको थियो । -गोरखापत्र

https://www.techpana.com/2021/105122/