काठमाडौँ — ७६ यात्रु बोकेर नेपालगञ्जका लागि उड्ने तरखरमा रहेको श्री एयरलायन्सको विमान त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको घाँसे मैदानमा फसेको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार यात्रु राखेर पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जानेक्रममा श्री एयरलायन्सको ड्यास– एट विमान पार्किङ क्षेत्रभन्दा बाहिर घाँसे मैदानमा पुगेको हो । 

‘जहाजको बायाँ पांग्रा (ल्याण्डिङ गियर) डोमेस्टिक पार्किङको पिचभन्दा तीन फिट बाहिर गएको छ,’ प्रवक्ता शेर्पाले भने, ‘जहाजको पांग्रा कसरी बाहिर गयो अहिले जानकारी आइसकेको छैन । जहाज निकाल्ने काम भइरहेको छ ।’

शेर्पाले उक्त विमान घाँसे मैदानकै पार्किङमा फसेकाले विमानस्थलको उडान र अवतरणमा भने कुनै बाधा आइनपरेको बताए ।

विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार नेपालगञ्जकालागि जहाजमा चढेका यात्रुलाई श्रीको अर्को विमानमा पठाउने तयारी भइरहेको छ ।

अल्फा नोभेम्बर फक्सट्रट कलसाइन भएको यो ड्यास– एट विमानको नेपालगञ्ज उडान समय बिहान साढे नौ बजे थियो ।

उक्त जहाजलाई निकाल्न नेपाल वायु सेवा निगमको इन्जिनियरिङ विभाग, नेपाली सेना र श्री एयरका प्राविधिकहरु खटिएका छन् । नेपाल एयरलाइन्सको पुसब्याक उपकरणबाट तान्ने काम भइरहेको छ ।

श्रीले आन्तरिक उडानमा दुईटा ड्यास – एट र चारवटा सीआरजे विमान सञ्चालन गर्दै आइरहेको छ ।


https://ekantipur.com/business/2021/10/05/163341251075022249.html