काठमाडौं । साझा यातायातले ४० ओटा नयाँ विद्युतीय बस खरिद गर्ने भएको छ । शुक्रबार कम्पनीले विद्युतीय  बस  खरिदका  लागि  चीनको  सीएचटीसी  कम्पनीसँग सम्झौता गरेको हो ।

बस,  चार्जर  र  पाँच  वर्षसम्मको मर्मत सम्भार कम्पनीले नै गर्ने गरी सम्झौता भएको छ । साझा  यातायातले  ४०  ओटा  विद्युतीय बस, २० ओटा चार्जर, तालिम, मर्मत सम्भार र स्पेयर पार्टस्‌का लागि करिब  ५२  करोड  रुपियाँ  भुक्तानी  गर्ने जनाइएको छ  ।  

कम्पनीले  सुरुमा  तीन ओटा  बस  चार  महिनाभित्र  ल्याउने  छ  ।  साझा  यातायात  सञ्चालक  समिति  सदस्य  भूषण  तुलाधरले  काठमाडौंमा  परीक्षण गरेपश्चात् बाँकी बस ल्याइने बताए ।

२६ सिट क्षमताका यी अपाङ्गतामैत्री बसहरू एक पटक चार्ज गर्दा  ४२  जना  यात्रु  लिएर  दुई  सय  किलोमिटर गुड्नेछन् । ललितपुर  महानगरपालिकाको  सहकार्यमा  थप  चार ओटा  विद्युतीय  बसको  खरिद  प्रक्रिया  पनि  अघि  बढाइएको छ ।

साझाले पुराना डिजेल बसलाई  विद्युतीय  रूपान्तरण  गर्न  आवश्यक  अनुसन्धान  गर्ने  काम  पनि  अगाडि  बढाइरहेको  तुलाधरले  जानकारी दिए । साझा  यातायातलाई  विद्युतीय  बस खरिदका लागि भौतिक पूर्वाधार तथा  यातायात  व्यवस्था  मन्त्रालयले  तीन अर्ब रुपैयाँ शेयर लगानी गरेको छ । साझाले सन् २०२५ भित्र आफ्ना सम्पूर्ण  बसहरू  प्रदूषणरहित  बनाउने  जनाएको  छ  ।

-गोरखापत्र

https://www.techpana.com/2021/105431/