काठमाडौं । एउटा सर्वेक्षण यस्तो निष्कर्षमा पुगेको छ कि आईफोनका एपले एन्ड्रोइड एपले जत्तिकै व्यक्तिगत गोपनीयतामा दख्खल दिने गरेका छन् । ‘के आईफोन वास्तवमै गोपनीयताका लागि उत्कृष्ट छन् ?’ शीर्षक दिइएको प्राज्ञिक प्रतिवेदनमा भनिएको छ, ‘समग्र रुपमा हामीले जति गोपनीयताका सबै आयामबाट अध्ययन गरेका छौँ, त्यस आधारमा कुनै एउटा प्लेटफर्म अर्कोभन्दा राम्रो भन्न सकिने ठाउँ छैन ।’

यो प्रतिवेदन अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले प्रस्तुत गरेका हुन् । ‘स्मार्टफोन आर्किटेक्चर रोजाइको आधारमा प्रयोगकर्ताको गोपनीयता सुरक्षित हुने जुन तर्क छ, त्यस मामिलामा हाम्रो विश्लेषणले आईओएस वा एन्ड्रोइडबीच कुनै एउटा विजेता बन्ने कुनै प्रस्ट आधार छैन, ‘ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘दुवै प्लेटफर्ममा ट्रयाकिङ प्रयोजनका लागि डेटा शेयर गर्ने कुरा समान छ ।’

अक्सफोर्डको यो निष्कर्ष यस अघि आइरिस टिमले ‘एन्ड्रोइड र आईओएसको गोपनीयता सम्बन्धी कोर प्रणाली’ भन्ने विषयमा गरेको अध्ययनको निष्कर्ष समान छ । ‍यद्यपि सन् २०२० मा एक जना अमेरिकी अनुसन्धानकर्ताले सुरक्षाको हिसाबले आईओएस एप मोटामोटी रुपमा एन्ड्रोइड एप जस्तै भएको पत्ता लगाएका थिए ।

यो अध्ययन आईफोनमा ट्र्याकिङ गर्न दिने वा नदिने छनौट गर्न पाउने ‘प्राइभेसी लेभल’ अनिवार्य हुनु अगावै यो अध्ययन भएको थियो । कोनरड कोलिङ, रुबेन बिन्स, म्याक्स भान क्लिक र निगेल श्याडबोल्टका साथै स्वतन्त्र अनुसन्धानकर्ता अनास्तासिया शोबले नयाँ परिमार्जित नीतिको प्रभावको मूल्याङ्कन भविष्यमा अध्ययन गरिने वाचा गरेका छन् ।

तर यो अनुसन्धानले ट्रयाकिङमा मात्र केन्द्रित नभएर अन्य थुप्रै विषयलाई समेटेको छ । आईओएस र एन्ड्रोइड जताततै हुन्छ ट्रयाकिङः अनुसन्धान टोलीले एन्ड्रोइड र आईओएस प्रत्येकबाट सन् २०१८ वा त्यसपछि सार्वजनिक तथा अपडेट गरिएका १२ हजार एपको कोड, अनुमति र नेटवर्क ट्राफिकको विश्लेषण गरेको थियो ।

हरेक एपलाई एउटा वास्तविक उपकरणमा प्रयोग गरेर हेरिएको थियो । जसमा आईओएस १४.२ भएको आईफोन एसई र एन्ड्रोइड नौगाट रहेको गुगल नेक्सस फाइभ रहेका थिए ।

उनीहरूले करिब सबैजसो (८९ प्रतिशत) एन्ड्रोइड एपमा कम्तिमा एउटा ट्रयाकिङ लाइब्रेरी रहेको भेटाएका थिए । जब कि आईओएसका ७९ प्रतिशत एपमा कम्तिमा एउटा ट्रयाकिङ लाइब्रेरी फेला परेको  थियो ।

जसले कुनै प्रयोगकर्ताले कुन विज्ञापन क्लिक गर्छ भन्ने कुराको ट्रयाक गर्छ । यसैगरी ६२ प्रतिशत आईओएस एपमा गुगलको एडमोब विज्ञापन ट्रयाकिङ लाइब्रेरी प्रयोग भएकोमा ५४ प्रतिशत आईओएस एपमा गुगल फायरबेस चलेको पाइएको थियो ।

जुन ५८ एन्ड्रोइड एपमा रन भएको अध्ययनका क्रममा भेटिएको छ । यस्तै २८ प्रतिशत एन्ड्रोइड एप र २६ प्रतिशत आईओएस एपमा फेसबुक ट्रयाकर रहेको उल्लेख छ ।

रोचक कुरा त के छ भने ट्रयाकिङका लागि ९० प्रतिशत एन्ड्रोइड एप तथा ६० प्रतिशतभन्दा बढी आईओएस एपसँग शेयर गरिएको डेटा ट्र्याकिङ कम्पनी गुगलको स्वामित्वका हुन् । ‘एन्ड्रोइडमा मात्रै होइन, आईओएसमा हुने ट्र्याकिङ समेत अधिकांश रुपमा गुगलबाट हुने गरेको छ, जसका लागि डिभाइस सेटअप प्रक्रियाका क्रममा कतै पनि प्रयोगकर्ताको स्वीकृति लिने गरिँदैन,’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

करिब सबैजसो ट्रयाकिङ कम्पनी अमेरिकामा रहेका छन् भने आईओएसका करिब ९.५ प्रतिशत र ५ प्रतिशत एन्ड्रोइड एपमा चिनियाँ ट्रयाकर प्रयोग भएको छ । त्यस्तै ७.५ प्रतिशत आईओएस एप तथा २ प्रतिशत एन्ड्रोइड एपमा भारतीय ट्र्याकर पाइएको थियो ।

अनुसन्धानकर्ताले बेलायती भर्सनका एपहरू प्रयोग गरेका थिए । यस्तोमा ट्रयाकर कम्पनी सबै युरोप बाहिर रहेका छन् । युरोपको जीडीपीआर नीति उलंघन  गरेकै कारण त्यस्ता कम्पनी त्यस क्षेत्रबाहिर रहेको अनुमान गरिएको छ । 

https://www.techpana.com/2021/105529/