काठमाडौं । अहिलेको समयमा इन्टरनेट तथा सूचना प्रविधिको प्रयोग आम मानिसको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । मनोरञ्जन र सञ्चारका लागि मात्र होइन, अध्ययन र अफिसको काम समेत यसैमा निर्भर हुन्छ ।

बैंकिङ तथा वित्तीय कारोबारदेखि संवेदनशील सूचना आदान प्रदान समेत इन्टरनेटबाटै हुने गरेको छ । कम्प्युटर उपकरण तथा इन्टरनेटको प्रयोग बढ्दै जाँदा साइबर अपराधका घटना समेत सोही अनुपातमा देखा पर्न थालेका छन् ।

त्यसैले प्रयोगकर्ताका लागि सुरक्षा सावधानी महत्वपूर्ण बनेको छ । आज हामी तपाईंलाई केही यस्ता टिप्स  दिँदै छौँ, जसअनुरूप तपाईंले आफ्नो कम्प्युटर तथा ल्यापटपलाई ह्याकरबाट जोगाउन सक्नुहुनेछ । ।

ह्याकरबाट कसरी जोगाउने आफ्नो कम्प्युटर ?

१. आफ्नो डेस्कटप तथा  ल्यापटपमा जेन्युन/लाइसेन्स्ड तथा ओपन सोर्स अपरेटिङ सिस्टम तथा सफ्टवेयर मात्र प्रयोग गर्नुहोस् ।

२. जेन्युन तथा लाइसेन्स भएको एन्टिभाइरस राख्नुहोस् ।

३. पासवर्ड सहितको एड्मिन युजर अकाउन्ट बनाएर मात्र डेस्कटप तथा ल्यापटप प्रयोग गर्नुहोस् ।

४. गेस्ट अकाउन्ट बनाएर मात्र अरुलाई आफ्नो कम्प्युटर प्रयोग गर्न दिऔँ ।

५. डेस्कटप तथा ल्यापटपमा लग इनका लागि बलियो पासवर्ड राख्नुहोस् । सम्भव भएसम्म फिंगरप्रिन्ट लक तथा फेस लक समेत प्रयोग गर्न सक्नुहुन्छ ।

६. आफ्नो अपरेटिङ सिस्टमलाई अपटुडेट अर्थात समय समयमा अपडेट गर्ने बानी बसाल्नुहोस् ।

७. आधिकारिक एप्लिकेसन सम्बन्धित एप स्टोर वा वेबसाइटबाट मात्र इन्स्टल गर्नुहोस् ।

८. अनावश्यक एप्लिकेसन तथा सफ्टवेयर डाउनलोड गरी इन्स्टल गर्ने गल्ती नगर्नुहोस् । यदि त्यस्ता एप्लिकेसन आफ्नो कम्प्युटरमा छन् भने तुरुन्तै अनइन्स्टल गर्नुहोस् ।

९. आवश्यक नहुँदा वाई-फाई तथा इन्टरनेट र ब्लुटुथ बन्द गर्ने बानी बसाल्नुहोस् ।

१०. डेस्कटप तथा ल्यापटपमा मोजिला फायरफक्स तथा ब्रेभ जस्ता सुरक्षित  वेब ब्राउजर प्रयोग गर्नुहोस् ।

११. आफ्नो कम्प्युटरमा कम्तिमा दुई ओटा ड्राइभ बनाएर प्रयोग गर्नुहोस् ।

१२. आफ्ना महत्वपूर्ण तथा संवेदनशील फाइलहरू डेस्कटप तथा ल्यापटपको सी ड्राइभमा नराख्नुहोस् ।

१३. आफ्नो कम्प्युटरमा रहेका महत्वपूर्ण तथा संवेदनशील डेटालाई नियमित रुपमा व्याकअप गरेर राख्नुहोस् ।

१४. पुरानो डेस्कटप तथा ल्यापटपमा भएका सम्पूर्ण डेटा फर्म्याट/डेगासस/डिम्याग्नेटाइज गरेर मात्र नष्ट गरौँ ।

१५. आफ्नो कम्प्युटरमा अटो स्क्रिन लक राख्न नबिर्सौँ ।

१६. सकेसम्म आफ्नो कम्प्युटरमा असुरक्षित पेनड्राइभ तथा रिमुभेवल मिडिया प्रयोग नगरौँ ।

१७. डेस्कटप तथा ल्यापटपमा अटो रन अथवा अटो प्ले हुने एप्लिकेसन डिसेबल गर्नुहोस् ।

१८. आफ्नो व्यक्तिगत विवरण, बैंकिङ सूचना, पासवर्ड जस्ता महत्वपूर्ण विवरणलाई आफ्नो ल्यापटप वा कम्प्युटरमा प्लेन टेक्स्टमा नराखी इन्क्रिप्ट गरेर मात्र राख्ने बानी बसाल्नुहोस् । 

-नेपाल दूरसञ्चार प्राधिकरणबाट जनहितमा जारी सन्देशमा आधारित टिप्स 

https://www.techpana.com/2021/103269/