काठमाडौं  । यदि ट्राफिक प्रहरीको कारबाहीमा पर्नु भएको छ भने पक्कै पनि तपाईंको सवारी साधनको ब्लुबुक वा लाइसेन्स नियन्त्रणमा लिएको हुनुपर्छ । यस्तोमा आफ्नो कागजात कुन ट्राफिक प्रहरी कार्यालयमा छ भन्ने कुराले सवारी धनीमा दुबिधा र झन्झट उत्पन्न हुने गरेको छ ।

यस्तै किसिमको समस्या समाधान गर्न ट्राफिक प्रहरीले डकुमेन्ट ट्रयाकिङ सिस्टम (डीटीएस) सञ्चालनमा ल्याएको छ । यो सिस्टम हाल काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा लागु भएको छ ।

यदि तपाईं यी तीन ओटा जिल्लामा केही गरी ट्राफिक प्रहरीको कारबाहीमा पर्नु भयो भने डीटीएस सिस्टमको सहयोग लिन सक्नु हुनेछ । यो सिस्टम अनुसार ट्राफिक प्रहरीले खिचेर लगेका आफ्ना कागजात कुन कार्यालयमा छ भन्ने कुरा थाहा पाउन मोबाइलको म्यासेज बक्समा गएर ‘Echalan’ टाइप गरी एक स्पेस छोडेर आर्थिक वर्ष र चिट नम्बर उल्लेख गरी ३४००१ मा पठाउनुहोस् ।

केही समयपछि तपाईंले आफ्नो कागजपत्र कुन ट्राफिक प्रहरी कार्यालयमा छ भन्ने कुराको जानकारी एसएमएस मार्फत नै प्राप्त गर्न सक्नुहुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चिट काटिएको केही समयपछि मात्र डीटीएस सक्रिय हुने गरेको छ ।  

https://www.techpana.com/2021/103301/