काठमाडौं । के तपाईं एप्पल डिभाइस प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने आफ्ना डिभाइस सफा गर्न के प्रयोग गर्नुहुन्छ ? यसको उत्तर हुनसक्छ, सामान्य कुनै नरम कपडा, रुमाल अथवा कुनै चस्मा पुछ्ने कपडा ।

कुनै अवस्थामा त तपाईंले आफ्नो डिभाइस सफा गर्न टिस्यु पेपर पनि प्रयोग गर्नुहुन्छ होला । तर अब भने एप्पलका डिभाइस सफा गर्न जुनसुकै कपडा वा कागज प्रयोग गर्नुपर्दैन ।

आफ्नो डिभाइसको ख्याल गर्दै कम्पनीले एप्पल डिभाइसकै लागि भनेर डिभाइस सफा गर्ने कपडा सार्वजनिक गरेको छ ।

आफ्ना उत्पादनको छुट्टै इकोसिस्टम बनाउने लत लागेको कम्पनीले एप्पल डिभाइस सफा गर्न भनेर छुट्टै कपडाको पनि व्यवस्था गरेको छ ।

सोमबार राति सम्पन्न लञ्च इभेन्टमा एप्पलले आफ्नो डिभाइस सफा गर्ने कपडा पनि सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो कपडाको मूल्य १९ अमेरिकी डलर अर्थात करिब २३ सय रुपैयाँको हारहारी पर्नेछ ।

विश्वबजारमा सार्वजनिक भएको यो कपडा नेपालमा पनि छिट्टै उपलब्ध हुने जनाइएको छ । यो कपडा तपाईंले कुनै डिभाइसको खरिदमा भने पाउनुहुन्न । यसलाई तपाईंले छुट्टै खरिद गर्नुपर्ने हुन्छ ।

एप्पलको लोगो अंकित यो सफा गर्ने कपडा अन्य कपडाभन्दा कतिको भिन्न छ भन्ने कुरा चाहिँ बजारमा प्रयोगमा आएपछि नै थाहा होला । तर कम्पनीले भने यो एप्पल डिभाइस सफा गर्न बनाइएको यो कपडा अन्यभन्दा भिन्न र लाभदायी रहेको दाबी गरेको छ ।

https://www.techpana.com/2021/106074/