एडा फेनिक/-
बालरोग विशेषज्ञको रुपमा आफ्नो मेडिकल स्कुल र पेशागत तालिमका क्रममा मैले अटिजमको संकेतहरु पहिचान गर्न सिकें । अटिजम भएकाहरुमा सीमित र एउटै खालको ढर्रामा दोहोरिने व्यवहार, क्रियाकलाप र रुचि हुने स्वभाव हुन्छ ।

उनीहरुमा विभिन्न सामाजिक सन्दर्भमा सञ्चार गर्ने र अन्तर्क्रिया गर्ने स्वभाव हुन्न । यो रोगका संकेतहरु तीन वर्षको उमेरभन्दा अघि नै देखिने भएपनि मलाई आफ्नै छोरामा यो रोगको संकेत थाहा पाउन बढी समय लाग्यो ।

उसलाई अटिजम रहेको पाँच वर्षको उमेरमा मात्रै थाहा भयो । 

अहिले ठूलो भएको मेरो छोरा अटिजमसँगै बाँचिरहेको छ । समय र अनुभवले मलाई पनि साना नानीहरुमा अटिजम राम्ररी पहिचान गर्नसक्ने बनाएको छ ।

 

अहिले, विभिन्न स्वरुपमा म अटिजमको यस्तो संकेत प्रौढहरुमा पनि देखिरहेको छु । मलाई लाग्छ मानिसहरु अहिले एउटा महामारीको सामना गरिरहेका छन्, जसलाई म ‘स्मार्टफोन अटिजम’ भन्न रुचाउँछु ।

 

मैले यो शब्द हल्का रुपमा वा बेवास्तामा प्रयोग गरेको होइन । मलाई थाहा छ, अटिजम भनेको आनुवांशिकी, अनुवांशिकीमा हुने परिवर्तन, जैविक र वातावरणीय पक्षबाट सिर्जित जटिल रोग हो । यसले ठूलो कमजोरी निम्त्याउँछ ।

तर, स्मार्टफोनको प्रयोगको आधारमा यस्तै खालका कमजोरी हाम्रो जीवनमा भइरहेको छ भन्ने कुरालाई म अस्वीकार गर्न सक्दिनँ ।

मैले भनेको विश्वास लाग्दैन ? आफूले हरेक दिन देख्ने मानिसहरुको दैनिकी कसरी बितिरहेको छ, सोच्नुहोस् । हातमा स्मार्टफोन र स्क्रिनमा टाँसिरहने आँखा ।

 

यो व्यवहार खराब हो भन्नेमा तपाईं अझै आश्वस्त हुनुनुहन्न भने तपाईं पनि आफ्नो फोनसँग धेरै व्यस्त भएका कारण यो बारेमा सोच्न नभ्याएको हुनसक्छ ।

भर्खरै एक हजार जनामा गरिएको सर्वेक्षण अनुसार, औषतमा एक मानिसले दिनमा २६२ पटक फोन हेर्छन् ।

हाम्रा धेरै यात्राहरु पनि स्मार्टफोनसँगै गाँसिएका छन् । ३० लाख यात्रुहरुमाझ गरिएको अर्काे सर्वेक्षणले के देखाएको छ भने ५७ करोड यात्रामा गरिएको अध्ययनले ८८ प्रतिशत चालकहरुले आफ्नो फोन चलाउने गरेको देखिएको थियो ।

एक पटकमा औषत साढे तीन मिनेटसम्म फोन प्रयोग भएको अध्ययनले देखाएको छ । चालकले दुई सेकेन्डमात्रै पनि आफ्नो आँखालाई सडकबाट अन्यत्र मोड्दा दुर्घटना हुने जोखिमको सम्भावना २० प्रतिशत बढी हुन्छ ।

 

आफैंलाई यत्रो ठूलो हानी हुने जोखिमले पनि मानिसलाई अनावश्यक रुपमा फोन हेरिरहने बानी परिवर्तन गराउन सकेको छैन ।

मानिसको यो व्यवहार यत्ति खराब अवस्थामा पुगिसकेको छ कि, फोनको लतबाट छुटाउने विशेष खालका क्याम्पहरु समेत खुलिसकेका छन् ।

स्थिति यत्ति खराब भइसकेको छ कि स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरुले एप्पलको कार्यालय पुगेर विरोध प्रदर्शन गर्नुपर्‍याे । फोनसँगको लत, अर्को शब्दमा भन्दा, सीमित र एउटै खालको ठर्रामा दोहोरिरहने व्यवहार, क्रियाकलाप र रुचि भएको छ ।

सामाजिक सञ्चारको कमी हुने विषयमा भने विभिन्न अध्ययनले पनि देखाएको छ कि कुनै वार्ताको लागि फोनको प्रयोग भएको छ भने त्यसले विश्वास र सहभावमा कमी ल्याउँछ ।

सशरीर उपस्थित भएर गरिने कुराकानी र टेलिफोन कल (तपाईं कत्तिपटक आफ्नो स्मार्टफोनलाई फोनको रुपमा प्रयोग गर्नुहुन्छ ?)को लागि म्यासेज गर्नु, ईमेल गर्नु वा सामाजिक सञ्जालमा पोष्ट गर्ने भन्दा भिन्न खालको सञ्चार सीप आवश्यक पर्छ ।

केही नयाँ मिडियाहरुले टाढा रहेका मानिसहरुबीच सम्पर्क बढाउन सघाएका छन् भने केहीले नयाँ खालको सञ्चारको लागि सघाएका छन् र केहीले मानवीयतालाई नयाँ परिभाषा दिएको छन् ।

तर, स्मार्टफोनको लतले एकै कोठामा भएको मासिसबीचको अन्तर्क्रियालाई समेत सीमित बनाएको छ । स्मार्टफोनको लतलाई यत्तिसम्म भएको छ । यसका लागि नयाँ शब्द नै निर्माण भएको छ– फूबिङ ।

म्यासाचुसेट्स ईन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक शेरी टर्कलले यसको लागि अर्को शब्द फुराएका छन् – सँगै तर एक्लै (एलोन टुगेदर) ।

प्रौढ व्यक्तिले आफ्नो उच्च तहको सोच्ने क्षमतालाई प्रयोग गरेर हाम्रो आनीबानी सुधार्न सक्छन् । नमिल्ने अवस्थामा स्मार्टफोन प्रयोग नगर्ने बानी हामीले बसाल्न सक्छौ. र त्यस्ता नमिल्ने अवस्था कस्तो हो भनेर हामीले निर्धारण गर्न सक्छौं ।

जस्तै: हिँड्दा, गाडी चलाउँदा वा खाना खाने समयमा स्मार्टफोन प्रयोग नगरेर यसको सुरुवात गर्न सकिन्छ ।

हामीले परिवारबीच फोन एक ठाउँमा छाडेर अफलाइन बस्ने नयाँ नियम बनाउन सक्छौं । जस्तै : सबैले एक ठाउँमा फोन राख्ने र जसले पहिले फोन प्रयोग गर्छ, उसले जरिवाना तिर्ने नियम बनाउन सकिन्छ । हामीले फोन चलाउनका लागि जतिबेला पनि समय खर्च गर्नुको साटो एउटा निश्चित समयमा मात्रै चलाउने गरी समय छुट्याउन सक्छौं ।

प्रौढले आफ्नो विवेकको प्रयोग गरेर आफ्नो लागि निर्णय लिन सक्ने भए पनि बालबालिकाको हकमा भने यस्ता निर्णय गर्न सक्ने क्षमताको विकास भइसकेको हुन्न ।

हालसम्म कत्ति समय स्क्रिनको प्रयोगले बालबालिकाको मष्तिस्क विकासमा असर पार्छ भन्ने अध्ययन भइसकेको छैन । तर, बालबालिकाको हातमा स्मार्टफोनको जादुयी स्क्रिनको जबरजस्त उपस्थितिले मलाई तर्साउँछ ।

कोरोना महामारीअघि म सान्ता क्रुजको एउटा रेष्टुरेन्टमा थिएँ । मेरो छेउमै एक जना महिला आफ्नी छोरीसँगै थिइन् । उनकी छोरीले त्यहाँ रहँदा एउटा मेनुमा रङ भरिन् र आफ्नो ममीलाई देखाइन् र भनिन्– ‘हेर्नुस् त ममी, मैले यसमा रङ लगाएँ ।’

तर, छोरीको कुरा सुन्ने वित्तिकै आमाले भनिन्– ‘मैले फोन चलाउने बेलामा मलाई तनाव नदेऊ भनेको होइन ?’

हाम्रो यो व्यवहारबाट हाम्रा बच्चाहरुले के सिक्छन् ? 

हाम्रो लत बच्चाहरुले सिक्नुहुन्न । त्यसकारण, फोन राख्नुहोस् र आफ्ना बालबालिकासँग समय बिताउनुहोस् । ठूलाले जे गर्यो बच्चाले त्यही सिक्छन् । त्यसकारण तपाईंले आफ्नो आदर्श अवस्था उनीहरुलाई देखाउनु भयो भने उनीहरु पनि आदर्शवान् बन्न सक्छन् । 
https://www.techpana.com/2021/106143/?fbclid=IwAR1QvYMWcRRWhuHNVEhgdpiTCI_-WV2-CMKMr3MSjAI-LrlnZlLSDhB1150