काठमाडौं । लामो समयको पर्खाइ पश्चात अन्ततः फेसबुकले आफ्नो डिजिटल करेन्सी वालेट नोभी सार्वजनिक गरेको छ । आफ्नो क्रिप्टो करेन्सी डाइम(लिब्रा) लाई नियामकले अनुमति नदिँदा फेसबुकले प्याक्सअस डलरलाई कारोबारको माध्यम बनाउँदै अमेरिकाबाट नोभीको सुरुवात गरेको हो ।

‘पाइलट परियोजनाको रुपमा हामीले अमेरिकाका साथै ग्वाटेमालाबाट नोभीको सुरुवात गरेका छौं,’ नोभीका प्रमुख डेभिड मार्कसले भने, ‘प्रयोगकर्ताले आईओएस तथा एन्ड्रोइडमा उपलब्ध एप डाउनलोड गरी सरकारी प्रमाणपत्र राखी लगइन गर्न सक्नेछन् ।’

उनका अनुसार यो पाइलट परियोजना भएकाले पूर्ण रुपमा परीक्षणमात्रै हो । यसमा उपलब्ध फिचर, यसको कोर सिस्टम र यसको पूर्वाधारको परीक्षणका लागि हाल यसको सुरुवात गरिएको हो । जसमार्फत एउटा वालेटबाट अर्को वालेटमा पैसा पठाउनका लागि कुनै शुल्क लाग्ने छैन ।

नोभि सार्वजनिक हुँदा यसको सबैभन्दा ठुलो फिचर ‘डाइम’ हुने अपेक्षा गरिएको थियो । फेसबुकले विभिन्न कम्पनीसँगको सहकार्यमा दुई वर्ष अघि लीब्रा क्वाइन परियोजना अघि बढाएको थियो । तर, परियोजना घोषणा भएको दुई महिना नबित्दै उक्त परियोजना खारेज भयो र फेसबुकले छुट्टै ‘डाइम’ को सुरुवात गर्‍यो ।

तर, हालसम्म डाइमले सरकारबाट अनुमति प्राप्त गर्न सकेको छैन् । यस्तोमा कम्पनीले प्याक्सअससँगको सहकार्यमा नोभीको सुरुवात गरेको जनाइएको छ ।  

https://www.techpana.com/2021/106113/