काठमाडौं । सरकारले आगामी दुई महिनामा नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी थालेको छ । यसका लागि फ्रान्सेली कम्पनी आईडीमियाले स्मार्ट कार्ड छपाइको प्रक्रिया सुरु गर्न लागेको छ ।

यसअघि राष्ट्रिय परिचयपत्रको पाइलट प्रोजेक्टको जिम्मा पनि आईडीमियालाई नै दिइएको थियो । सो परियोजनाअन्तर्गत एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका इन्जिनियर ज्ञानेश्वर बोहोराले विभागको राष्ट्रिय प्रणालीमा दर्ता भएका व्यक्तिहरुलाई आउँदो डिसेम्बर वा जनवरीदेखि परिचयपत्र वितरण गर्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म विभिन्न जिल्ला गरी ३५ लाख बढीको विवरण संकलन भएको छ । नयाँ कार्डमा क्यूआर कोड फिचर सहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने उनले बताए ।

राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरणबाहेक अनुहार (फोटो), दश ओटै औंलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ ।

यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुवैरुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश हुने जनाइएकाे छ ।

एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुवास ढकाल बताउँछन् । अहिलेको कागजी प्रणालीमा भने यस किसिमको पद्धति संभव छैन ।

‘अहिलेको नागरिकतामा जस्तो अनुहार मिल्ने, केही वर्षपछि व्यक्तिको अनुहार परिवर्तन हुने हुँदा झुक्याउने सम्भावना यसमा रहँदैन,’ ढकालले भने । 

याे पनि पढ्नुहाेस्: यस्तो हुनेछ राष्ट्रिय परिचयपत्र

https://www.techpana.com/2021/106429/