काठमाडौं । चिप आयातमा अमेरिका र चीनमाथिको निर्भरता कम गर्ने योजना बनाएका युरोपेली मुलुक अहिले अमेरिकी कम्पनी इन्टेललाई फकाउने ध्याउन्नमा देखिन्छन् ।

इन्टेलले सार्वजनिक गरेको आफ्नो एउटा योजनाले जर्मनी, फ्रान्ससहित, इटाली र पोल्याण्ड इन्टेललाई फकाउनमा तल्लिन छन् । यो दौडमा युरोपेली मुलुक इटाली सबैभन्दा अगाडि देखिन्छ ।

इटालीले इन्टेललाई आफ्नो देशमा चिप प्लान्ट राख्नका लागि मनाउन ठूलै छुटको योजना दिने तयारीमा रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले देखिएको चिप अभाव भविष्यमा नदेखियोस् भन्दै इन्टेलले युरोपमा दुई ठूला प्लान्ट राख्ने योजना सार्वजनिक गरेको थियो । अमेरिकी कम्पनी इन्टेलले दुई प्लान्ट राख्नका लागि १० अर्ब डलरको हारहारीमा लगानी गर्दैछ ।

तर, लगानी मात्रै नभएर प्लान्ट राख्दा हुने रोजगारीको सिर्जना र चिप निर्माणमा हुने ख्यातिका कारण युरोपेली मुलुक यो अमेरिकी कम्पनीलाई मनाउन लागिपरेका छन् ।

चिप अभावका कारण अहिले स्मार्टफोनदेखि इलेक्ट्रोनिक्स र विशेषगरी कार निर्माता कम्पनीहरुले आफ्नो उत्पादनको योजना पछि सारिरहेका छन् ।

जर्मनी कम्पनी बीएमडब्ल्यूले चिप अभावकै कारण आफ्नो आगामी वर्ष कारको उत्पादन करिब करिब एक लाखले कमी आउन सक्ने बताइसकेको छ । अन्य धेरै कार निर्माता कम्पनीले पनि उत्पादनको मितिलाई पर सारिरहेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार इटालीले आफ्नो मुलुकमा करिब ५ अर्ब अमेरिकी डलर लगानी गरी प्लान्ट निर्माणको लागि इन्टेललाई मनाइरहेको छ ।

स्रोतहरुलाई उद्धृत गर्दै सार्वजनिक भएका समाचार अनुसार इन्टेलले आफ्नो देशमा प्लान्ट राखे इन्टेलले गर्ने कूल लगानीको केही प्रतिशत आफैंले व्यहोर्न पनि इटाली तयार छ । यसका साथै, श्रम र ऊर्जा लागत्मा केही सहुलियत दिने गरी इटालीले प्रस्ताव राखिसकेको छ ।

इन्टेलले युरोपमा राख्ने योजना बनाएको एउटै प्लान्टले स्थानीय स्तरमा कम्तिमा पनि एक हजार प्रत्यक्ष रोजगारीको सिर्जना हुनेछ ।

इटालीले आफ्नो देशमा कार निर्माताको हबको रुपमा परिचित मिराफियोरिमा प्लान्ट राख्नको लागि इन्टेललाई प्रस्ताव गरेको छ । यसका साथै फ्रान्स–इटाली चिप निर्माता कम्पनी एसटीमाइक्रोइलेक्ट्रोनिक्सको प्लान्ट रहेको क्याटानिया पनि प्लान्ट राख्ने विकल्प इन्टेलसँग हुनेछ ।

इटालीले विभिन्न प्रस्ताव राखेको भए पनि इन्टेल जर्मनीमा चिप प्लान्ट राख्न बढी ईच्छुक देखिएको छ ।

इटाली र जर्मनीसहित इन्टेलको चिप प्लान्ट भित्र्याउने दौडमा फ्रान्स पनि छ भने पोल्याण्डले पनि इन्टेल भित्र्याउन ईच्छा देखाइरहेको छ । पोल्याण्डमा इन्टेलको एउटा प्याकेजिङ प्लान्ट अहिले पनि सञ्चालनमा छ ।

इन्टेलका प्रमुख कार्यकारी अधिकृत प्याट गेल्सिङ्गरले गत महिना युरोपका दुई ठाउँमा आफ्नो कम्पनीले ठूला प्लान्ट स्थापना गर्ने बताएका थिए । इन्टेलले आगामी एक दशकमा युरोप महाद्धीपमा मात्रै ८० अर्ब यूरो लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

युरोपियन युनियनले केही वर्ष यता चिपको लागि अमेरिका र चीनमाथि हुँदै आएको निर्भरता कम गर्ने योजना बनाइरहेका थिए । तर, विश्वव्यापी रुपमा काभिड–१९ महामारी सुरु भएपछि उद्योग बन्द भएका कारण विश्वभर नै चिप अभाव देखिएको छ । जसका कारण स्मार्टफोन, कम्युटरसहित कार निर्माताहरु समेत प्रभावित छन् ।

चिप अभावका कारण सबैभन्दा बढी प्रभावित कार निर्माता कम्पनीहरु हुन् र युरोपका धेरै देशका अर्थतन्त्र पनि यस्तै कम्पनीको आर्थिक गतिविधिमा निर्भर छन् ।

सन् २०३० सम्ममा विश्वभर उत्पादन हुने सेमिकन्डक्टरमध्ये २० प्रतिशत आफ्नै महाद्धीपमा बनाउने युरोपियन युनियनको लक्ष्य छ । तर, कोभिड–१९ महामारीपछि सिर्जित अवस्थामा यो लक्ष्य हासिल चुनौतिपूर्ण हुनेछ ।

इटालीका प्रधानमन्त्री मारियो ड्राङ्गीले यसैसाता यो लक्ष्य हासिलका लागि युरोपले अहिले नै निर्णायक कदम चाल्नुपर्ने धारणा राखेका थिए । चीन र अमेरिकाले चिप निर्माणमा अर्बौं डलर लगानी गरिहेकाले युरोपेली मुलुकले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

युरोपियन युनियनले राखेको लक्ष्य पूरा गर्न ठूला ठूला प्लान्टहरु स्थापना गर्नुपर्ने हुन्छ, जुन आजको भोलि नै स्थापना गर्न सकिन्न ।

https://www.techpana.com/2021/106581/