काठमाडौं । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर मेटा राखेको छ । कम्पनीको भनाइमा उसले अब सामाजिक सञ्जालबाट अगाडि बढेर भर्चुअल रियालिटीमा आफ्नो पहुँच विस्तार गर्नेछ ।

नाम परिवर्तन कम्पनीका विभिन्न प्लेटफर्ममा भने हुने छैन । यो परिवर्तन केवल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, ओकुलसजस्ता प्लेटफर्मको प्यारेन्ट कम्पनीमा मात्र हुनेछ ।

अर्थात मेटा यी सबै प्लेटफर्मको अभिभावक कम्पनी हो र सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप त्यसैका हिस्सा हुन् ।

फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन यस्तो समयमा भएको छ कि उसकी एक पूर्वकर्मचारीले कम्पनीका दस्तावेज लिक गरेपश्चात् नकारात्मक रिपोर्ट सिलसिलेवार रुपमा बाहिर आए ।

फेसबुककी पूर्व कर्मचारी फ्रान्सिस हगेनका अनुसार यो सामाजिक सञ्जाल कम्पनीले सुरक्षालाई दाउमा लगाएर मुनाफाका लागि काम गरिरहेको छ ।

सन् २०१५ मा गुगलले पनि यस्तै किसिमको कदम उठाएको थियो । उसले पनि प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट राखेको थियो । यद्यपि यो नाम खासै प्रचलनमा भने आएन ।

फेसबुकका मालिक मार्क जुकरबर्गले घोषणा गरेका छन् कि नयाँ नाम मेटाभर्स योजनाको एउटा हिस्सा हो । मेटाभर्सको अर्थ एउटा यस्तो अनलाइन दुनियाँ हो, जहाँ प्रयोगकर्ताहरू भर्चुअल रुपमा गेम खेल्न सक्छन्, काम गर्न सक्छन् र सम्पर्क स्थापित गर्न सक्छन् ।

यसलाई भीआर हेडसेट समेत भन्न थालिएको छ । ‘अहिले हामीले जे गरिरहेका छौँ, त्यस हिसाबले विद्यमान ब्रान्ड प्रयाप्त छैन,’ जुकरबर्गले भनेका छन्, ‘एउटा यस्तो ब्रान्डिङको आवश्यकता थियो, जुन हाम्रा सबै कामको प्रतिनिधित्व गर्न सक्षम होस् । हाम्रो नजर भविष्यमाथि छ ।’

कम्पनीले अमेरिकाको क्यालिफोर्नियामा रहेको मेन्लो पार्कमा रहेको आफ्नो नयाँ लोगोबाट समेत पर्दा हटाएको छ । अब ‘थम्स अप’ भएको लोगोलाई निलो इन्फाइनाइट अर्थात् अनन्त आकारमा परिवर्तन गरिएको छ ।

जुकरबर्गका अनुसार नयाँ नामले आफ्नो समयलाई दर्शाउँछ । उनले भनेका छन्, ‘प्रयोगकर्तालाई कम्पनीका अन्य सेवा उपयोग गर्नका लागि फेसबुकको प्रयोग गर्न जरुरी हुनेछैन ।’

मेटा शब्द ग्रिक भाषाबाट लिइएको हो । जसको अर्थ ‘बियोन्ड’ अर्थात ‘अगाडि’को लागि हुने गर्दछ ।

आखिर मेटाभर्स भन्ने चिज के हो ?

मेटाभर्स भर्चुअल रियालिटी जस्तै लाग्छ । तर केही मानिसहरू यसलाई इन्टरनेटको भविष्य हुनसक्ने ठान्छन् । एउटा कम्प्युटरको साटो मानिसहरू एउटा हेडसेटको माध्यमबाट भर्चुअल दुनियाँमा सबै प्रकारका डिजिटल परिवेशमा आफ्नो पहुँच बनाउन सक्छन् ।

आशा गरिएको छ कि भर्चुअल दुनियाँमा काम, खेलकुद, कन्सर्टदेखि लिएर साथीभाइ तथा परिवारसँगको सम्पर्क सबै सम्भव हुनेछ ।  १ डिसेम्बरबाट नयाँ स्टक स्टिकर एमभीआरएसको रुपमा शेयर मार्केटमा जाने फेसबुकको आसय छ ।

त्यसो त पछिल्लो केही समयदेखि फेसबुकको शाख निकै नराम्ररी प्रभावित भएको छ ।  महामारीका दौरान फेसबुकले भ्याक्सिनसँग सम्बन्धी गलत सूचना सम्बन्धी महत्तपूर्ण जानकारीलाई रोकेको भन्दै वासिङ्गटन पोस्टमा रिपोर्ट छापियो ।

त्यस्तै इन्स्टाग्रामले किशोर किशोरीको मानसिक अवस्थालाई नोक्सान पुर्‍याउने गरेको निष्कर्षसहितको अर्को रिपोर्टलाई समेत फेसबुकले बेवास्ता गरिदियो । यसबाहेक कम्पनीमाथि अर्को आरोप पनि लाग्यो ।

कम्पनीले अमेरिका बाहिर घृणा फैलाउने पोस्टलाई हटाउने कुरामा चासो देखाएन । यी रिपोर्टमाथि प्रतिक्रिया दिँदै जुकरबर्गले आफ्नो हिसाबले छानेर केही रिपोर्ट लिक गरिएको बताए । ता कि कम्पनीलाई बदनाम गर्न सकियोस् ।

यस्तो लाग्छ, जुकरबर्ग कम्पनीको रिब्रान्डिङ गर्ने कोसिस गरिरहेका छन् । आलोचकहरूको भनाइमा फेसबुकको ब्रान्ड छवी धुमिल भएका कारण नाम परिवर्तन गरी मेटा राखिएको हो ।

अर्को कुरा यो छ कि मेटाभर्स अहिलेसम्म अस्तित्वमा आइसकेको छैन । जुकरबर्ग यसलाई लामो समयको योजना बताउने गर्छन् । यसको अर्थ नयाँ नामसँग फेसबुकका प्रडक्टहरूको कुनै पनि किसिमको सोझो सम्बन्ध छैन ।

यो कुरा स्पष्ट छ कि फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्नु जुकरबर्गलाई उत्साहित तुल्याउने विषय होइनन् । उनी अनलाइनको नयाँ दुनियाँ बनाउन चाहन्छन् । जसलाई हामी भर्चुअल रियालिटीको रुपमा चिन्ने गर्छौँ ।

जुकरबर्ग जसरी आफ्नो सामाजिक सञ्जाल कम्पनी चलाइरहेका छन्, उनीको लगातार आलोचना भइरहेको छ । यो परिवर्तनमार्फत जुकरबर्ग अन्य विषयमा आफ्नो ध्यान केन्द्रित गर्न सक्छन् । तर जुकरबर्गको यो परिवर्तनको दिशामा मानिसहरू जानेछन् वा छैनन्, त्यो भने हेर्न बाकी नै छ । 

https://www.techpana.com/2021/107204/