काठमाडौं । एप्पलले आफ्नो गोपनीयता नीति परिवर्तन  गर्दा स्न्यापच्याट, फेसबुक, ट्विटर र युट्युबले करिब १० अर्ब डलर आय गुमाएको दी फाइनान्सियल टाइम्सले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ । 

गत वर्ष एप्पलले आफ्नो एप ट्र्याकिङ ट्रान्सपरेन्सी नीति परिवर्तन गर्दै कुनै पनि प्रयोगकर्ताको डेटा लिनुअघि प्रयोगकर्ताको अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । उक्त नीति यही अप्रिलदेखि लागू भएको थियो जसका कारण प्रयोगकर्ताले अनुमति नदिंदा एप स्टोरमा भएका एपले प्रयोगकर्ताको डेटा लिन पाएका थिएनन् । 

एप्पललको यो नीतिको फेसबुकले सुरुदेखि नै विरोध गर्दै आएको थियो । धेरै आइओएस प्रयोगकर्ताले आफ्नो डेटा लिने अनुमति नदिंदा सामाजिक सञ्जाल कम्पनीको विज्ञापनमा असर गरेको हो जसका कारण उनीहरूले कूल १० अर्ब डलर हाराहारीमा आय गुमाएका छन् । यो सन् २०२१ को दोस्रो त्रैमासिकको मात्रै तथ्याङ्क हो । 

सबैभन्दा बढी आम्दानी गुमाउनेमा फेसबुक छ । व्यापार आकार कम भए पनि स्न्यापच्याट पनि प्रतिशतका हिसाबले धेरै आम्दानी गुमाउने सूचीमा परेको रिपोर्टमा उल्लेख छ ।

एप्पलको यो नीतिका कारण सन् २०२१ को दोस्रो त्रैमासिकमा मात्रै फेसबुक र स्न्यापच्याटले १३.२ प्रतिशत आम्दानी गुमाएको रिपोर्टमा उल्लेख छ । फेसबुक एक्लैले करिब साढे ८ अर्ब डलर आम्दानी गुमाएको रिपोर्टमा उल्लेख छ भने स्न्यापच्याटले आधा अर्ब डलर जति आम्दानी गुमाएको  छ । यस्तै, युट्युबले एक अर्ब डलर हाराहारीमा आम्दानी गुमाएको प्रकाशित रिपोर्टमा उल्लेख छ । 

https://www.techpana.com/2021/107362/