काठमाडौँ — हिन्दुहरुको चाड तिहारको धनतेरसको अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीको सिक्काको बिक्री सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले ती सिक्काको विक्री सुरु गरेको हो ।

धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री खुला गरिएको राष्ट्र बैंकका निर्देशक एंव टक्सार विभाग प्रमुख विनोद आचार्यले बताए ।

‘नागरिकले सजिलै र छिटो सिक्का पाउने गरि व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी वितरण गर्छै ।’

सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मुल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ ।

निषेधाज्ञाका कारण गत वर्ष असर्फी र चाँदीका सिक्का बनाउने (टकमारी) काम हुन नसकेकाले यो वर्ष नागरिकले माग गरे अनुसार सुन र अन्य सिक्का राष्ट्र बैंकले उपलब्ध गराउन नसक्ने आचार्यले बताए ।

तिहार लगतै टक्सार विभागले ती सिक्का बनाउन सुरु गरिने भएकाले आउँदो चैतदेखि नागरिकको माग अनुसार नै सुन, चाँदी लगायत अन्य सिक्का वितरण गर्न सकिने उनले दाबी गरे ।

दुई वर्ष पछि (टक्सार बबरमहल सारेपछि) राष्ट्र बैंकले पहिलो पटक गत शुक्रबार सिक्काको परिक्षण छपाई गरेको छ । पुरानो टक्सार कार्यालय सुन्धाराबाट स्थानान्तरण गरिएका मेसिनहरु जडान गरी पहिलो पटक राष्ट्र बैंकले परिक्षण छपाई गरेको हो । बाँकी मेसिनको पनि जडानको काम भइरहेकाले तिहारपछि नियमित रुपमा सुन, चाँदि लगायत अन्य सिक्काहरु छपाई गरिने राष्ट्र बैंकले बताएको छ ।

https://ekantipur.com/business/2021/11/01/163574768415332878.html