काठमाडौं । कोरियन सिरिज स्क्विड गेमले विश्वव्यापीरुपमा पाएको सफलतासँगै सोही नाममा अघिल्लो सातामात्रै स्क्विड गेम क्रिप्टोकरेन्सी सार्वजनिक भएको थियो ।

सार्वजनिक हुँदा शुन्यबाट सुरु भएको यस करेन्सीको मूल्य आकाशिएर एक हप्ताको अवधिमै दुई हजार ८५६ अमेरिकी डलरसम्म पुग्यो ।

एकाएक स्क्विडको मूल्य बढेसँगै धेरैले यसमा लगानी गरे । तर, अन्त्यमा उक्त करेन्सी बन्द भएको छ । यसलाई प्रवर्द्धकले खेलेर कमाउन सकिने क्रिप्टोकरेन्सीका रूपमा प्रचार गरेका थिए । यसको अर्थ यसमा क्वाइन किनेर अनलाइन गेम खेल्नुपर्छ ।

खेल्दै, लेभल पार गर्दै जाँदा उनीहरूले थप कमाउँदै पनि जान्छन् । त्यसरी जम्मा भएको टोकन पछि अन्य क्रिप्टोकरेन्सी वा राष्ट्रिय मुद्रामा साट्न सकिने बताइएकाे थियाे ।

तर, स्क्विडको हकमा भने टोकन किन्न सकिने भए पनि बेच्न वा साट्न नसकिने जस्ता समस्या देखिन थालेसँगै यसलाई फ्रड अर्थात ‘रग पुल’ भनेर संज्ञा दिइयाे । यसलगत्तै मूल्य शुन्यमा झर्‍याे ।

रग पुल अर्थात क्रिप्टोकरेन्सीले लगानीकर्तालाई आकर्षित गरेर त्यसको सटही रोक्ने र उठेको पैसा लिएर बेपत्ता हुने गर्छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गिज्मोडोका अनुसार स्क्विड क्रिप्टोकरेन्सीका प्रवर्द्धक अनुमानित ३३ लाख ८० हजार अमेरिकी डलर (साढे ३९ करोड रूपैयाँभन्दा बढी) कमाएर गायब भएका छन् ।

https://www.techpana.com/2021/107580/