रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिएका सरकारी स्कुलमा पढेको सामान्य किसानको छोरो  हुन् नेपाललार्इ उज्यालो पार्ने  कुलमान घिसिङ । सायद उनको नाम नसुन्ने नेपाली धेरै कम होला । वास्तवमा, उनले बिजुली काठमाडौँमा छिरे पछि मात्र देखाका थिए । उनको शिक्षाको कुरा गर्ने हो भने  प्राथमिक शिक्षा गाउँमै गरेका थिए भने कक्षा ५ पास गरेपछि दाजुहरुसँग काठमाडौँ छिरेका थिए ।  झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना भएका उनी पछि अमरआस बोर्डिङ स्कुलमा अध्ययन गरे साथै  अस्कल क्याम्पसबाट आईएस्सी गरेका उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट अध्ययन गर्न  पनि गएका थिए । उनी शिक्षामा अब्बल थिए । उनी जहिले पनि प्रथम हुन्थे ।

 सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरे पछि  पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका उनी सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी नेपाल विद्युत प्राधिकरणमा सातौँ तहको इन्जिनियर भएका थिए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाएका थिए । 

हुने बिरूवाको चिल्लो पात भने झै उनी त्यहाँ प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु पनि गरेका थिए ।  प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएका थिएन । सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । उनी कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको समयमा उनी कार्यकारी निर्देशकमा नियुक्त भएका कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए । घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा शुरु गरे । सो परीक्षण सफल भएको आधरमा २०७३ चैत्र १ देखि देशव्यापी रूपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए । करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६/७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो । कार्यकालको पहिलो वर्षमा नै घिसिङको नेतृत्वमा रहेको व्यवस्थापनले विद्युत् चुहावट तीन प्रतिशत घटाएका थिए । आर्थिक वर्ष २०७४/७५ मा विद्युत् चुहावट २०.४५ प्रतिशतमा ओर्लियो भने आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित भएको थियो । चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो । घिसिङले ६० मेगावाटको त्रिशूली थ्रीए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराए ।