काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफूले केही समयदेखि क्रिप्टो करेन्सीमा चासो राखेको बताएका छन् । कुकले विविध पोर्टफोलियोलाई आधार बनाएर हेर्दा केही क्रिप्टोकरेन्सीको स्वामित्व किन्नु उचित हुने बताएका हुन् ।

 

फोर्ब्सले उनीसँग करिब एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको क्रिप्टो करेन्सी हुनसक्ने अनुमान लगाएको भएपनि उनले भने आफूसँग यति नै क्रिप्टोकरेन्सी रहेको छ भनेर खुलाएका छैनन् । 

मङ्गलबार न्यू योर्क टाइम्स डिलबुक शिखर सम्मेलनमा बोल्दै गोपनीयता र एप स्टोरसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘एप्पलको गोपनीयतासँग सम्बन्धित मुद्दा तत्कालीन सहसंस्थापक स्टिभ जब्सले उठाएको विषय हो । कुनै एप वा वेब पोर्टल चलाउँदा प्रयोगकर्ताले आफूले केमा र केका लागि साइन अप गरिराखेको हो भनेर जान्न पाउनुपर्छ, साथै प्रयोगकर्ताको अनुमतिका लागि सिधा भाषामा सोधिनुपर्छ ।’

 

यो विषय सरल लागे पनि गम्भीर भएको कुकको भनाइ थियो । साथै यस अभियानका लागि सबैभन्दा नयाँ उदाहरण एप ट्रयाकिङ ट्रान्सपरेन्सी भएको कुकले बताए ।

 

प्रयोगकर्ताको अनुमति बिना नै केही एपहरूले ट्रयाक गर्ने गरेको भन्दै कुकले भने ‘केही एपहरूले मलाई ट्रयाक गर्न सक्छन् । तर कुरा एप डेभलपरप्रतिको विश्वासको आउँछ ।’

 

उता फेसबुकको स्वामित्व रहेको कम्पनी मेटाले भने एप ट्रान्सपरेन्सी सिस्टमले आफ्नो विज्ञापन व्यवसाय प्रणालीमा असर पुगेको भन्दै गुनासो गर्दै आएको छ । 

कुकका अनुसार एप्पलले क्रिप्टोलाई एप्पल पेमा एकीकृत गर्ने वा नगर्ने भन्ने निश्चित भइसकेको छैन । उनले भनेका छन्, ‘मलाई लाग्दैन कि क्रिप्टो एक्सपोजरका लागि मानिसहरूले एप्पलको स्टक किन्छन् ।’ 

https://www.techpana.com/2021/108320/