काठमाडौं । पछिल्लो समय क्यूआर कोडमार्फत गरिने भुक्तानी नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । एक वर्षको अवधिमै क्यूआर कोडबाट हुने  भुक्तानी कारोबार ६२९ प्रतिशत अर्थात छ गुणाभन्दा धेरैले बढेको छ ।

 

कारोबार रकम मात्रै होइन, क्यूआर कोड स्क्यान हुने दर समेत लगभग सोही अनुपातमा बढेको छ । गत वर्षको असोजमा दुई लाख ६५ हजार १२५ पटक क्यूआर कोड स्क्यान भएकोमा यस वर्षको असोजमा बढेर १५ लाख १५ हजार ३२९ पुगेको छ ।

क्यूआर स्क्यान भएको सङ्ख्याको वृद्धि हेर्ने हो भने करिब छ गुणा अर्थात् ५७१ प्रतिशतले बढेको देखिन्छ । क्यूआर कोडको प्रयोग बढ्दै गर्दै त्यसमार्फत एक पटकमा कतिसम्म भुक्तानी हुन्छ होला ? क्यूआर स्क्यानबाट हुने प्रत्येक कारोबार रकम बढ्दैछ वा घट्दैछ ? आज हामी यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्दैछौँ । 

 

यस्तो छ प्रत्येक स्क्यानमा हुने औसत कारोबार

 

गएको असोजमा मात्रै कूल छ अर्ब नौ करोड ७० लाख रुपैयाँको भुक्तानी क्यूआर कोडमार्फत भएको छ । जसका लागि कूल १५ लाख १५ हजार ३२९ पटक क्यूआर कोड स्क्यान गरिएको छ ।

 

यस आधारमा एक पटकको स्क्यानमा औसत चार हजार २४ रुपैयाँ भुक्तानी भएको देखिन्छ । जब कि गत वर्षको असोजमा यस्तो औसत भुक्तानी तीन हजार छ सय ५५ रुपैयाँ रहेको थियो ।

असोज २०७७ मा दुई लाख ६५ हजार १२५ पटकको स्क्यानमा ९६ करोड ९० लाख रुपैयाँको भुक्तानी क्यूआर कोडबाट भएको थियो । गएको भदौमा क्यूआर कोडको प्रत्येक तीन हजार सात सय १३ रुपैयाँ भुक्तानी भएको थियो । यसरी नेपालमा क्यूआर कोड स्क्यान, कारोबार रकम र प्रति स्क्यानमा हुने भुक्तानी सबैमा उल्लेख्य वृद्धि देखिएको छ ।

https://www.techpana.com/2021/109037/