काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले ९८ रेञ्जमा सिमकार्ड सकिएसँगै ९७ मा आधारित भएर जीएसएम सिमकार्ड बिक्री सुरु गरेको छ ।

 

टेलिकमले यसअघि सीडीएमएमा प्रयोग हुँदै आएको ९७ रेञ्जमा आधारित नम्बरलाई जीएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको हो ।

 

यसरी सीडीएमएमा प्रयोग हुँदै आएको नम्बरलाई जीएसएममा रूपान्तरण गर्दा उक्त सिमकार्डमा विदेशी कम्पनीको ओटीपी कोड नआउने समस्या देखिएको छ ।

 

‘मैले ९७ मा आधारित एकैपटक दुई ओटा सिमकार्ड खरिद गरेको थिएँ,’ काठमाडौं निवासी इन्जिनियर राजन सुवेदीले भने, ‘तर, यी दुवै सिमकार्डमा नेपाल टेलिकमको ओटीपी आउँछ, तर अन्य कम्पनीको ओटीपी आउँदैन ।’

 

टेकपानासँग सुवेदीले गरेको उक्त गुनासोको विषयमा हामीले नेपाल टेलिकमलाई प्रश्न गरेका थियौं । टेलिकमले पनि यो समस्या देखिएको स्वीकार गरेको छ ।

 

‘९७ बाट सुरु हुने जीएसएम सिमकार्डमा विदेशी कम्पनीहरूबाट आउने म्यासेजमा समस्या देखिएको छ,’ टेलिकमका एक इन्जिनियरले भने, ‘नेपालभित्रको हकमा भने कुनै समस्या छैन । मोबाइल बैंकिङका लागि आउने कोडमा कुनै समस्या हुँदैन । किनभने त्यो टेलिकम भित्रैबाट आउने हो । तर, अन्तर्राष्ट्रिय संस्था फेसबुक, गुगलबाट आउने ओटीपीमा भने समस्या देखिएको छ ।’

उनले भने, ‘९७ मा आधारित भएर जीएसएस सुरु हुँदा यो नयाँ रेञ्ज भयो । त्यो हुँदा अन्तर्राष्ट्रिय नम्बर नेपालसम्म आउनका लागि सुरुमा यो नम्बर नेपालको हो भनी पहिचान हुन आवश्यक छ । उदाहरणका लागि ९७७ भनेपछि नेपाल चिनिन्छ । ९७७ पछि आउने ९८५, ९८४ भन्यो भन्यो भने टेलिकम हो भन्ने जनाउँछ । ९७ मा पनि केही रेन्ज जस्तै ९७४ नेपाल टेलिकमको सिडिएमए हो भनेर चिनिन्छ ।’

तर, ९७ जीएसएमका लागि नयाँ रेन्ज हो । नयाँ रेन्ज खुला गर्दा अन्तर्राष्ट्रिय पार्टीले पनि यो नम्बर टेलिकमको हो भनेर जान्न आवश्यक हुन्छ । त्यो भएको खण्डमा मात्रै कल आउँदा तथा म्यासेज आउँदा यो नेपाल टेलिकमको नम्बरका लागि आएको हो भनी पहिचान गरी रुट गर्ने काम हुन्छ । त्यही रुट हुन नसक्दा यस्तो समस्या देखिएको हो ।

 

त्यसका लागि आजको आजै समस्या समाधान नहुने ती इन्जिनियरले बताए । ‘यसका लागि केही समय लाग्नसक्छ । यो विषयमा कम्पनी पनि पूर्ण रुपमा जानकारी रहेकाले समस्या समाधानका लागि विदेशी पार्टीहरूलाई जानकारी गराउने काम अघि बढिसकेको छ ।’

https://www.techpana.com/2021/109202/