काठमाडौं । अडियोमा आधारित च्याटरुम एप्लिकेसन क्लबहाउसले ‘ह्याकरवान’ मार्फत बग बाउन्टी प्रोगामको घोषणा गरेको छ । एकदमै जोखिमपूर्ण सुरक्षा कमजोरी फेला पारेको खण्डमा कम्पनीले तीन हजार डलर (तीन लाख ५६ हजार रुपैयाँ) बाउन्टी रिवार्ड दिने बताएको छ ।

 

त्यसैगरी कमजोरीको प्रकृति हेरी क्रमश: १,५०० डलर, ५०० डलर र १०० डलरसम्म बाउन्टी प्रदान गरिनेछ ।

‘धेरै बग बाउन्टी कार्यक्रमले संवेदनशील सुरक्षा कमजोरीका लागि उच्च पुरस्कारको प्रतिज्ञा गर्छन्, तर हामीले सकेसम्म धेरै बग सम्बोधन गर्न आफ्नो दायरा फराकिलो पारेका छौं । त्यसको लागि, यदि तपाईंले हाम्रो प्रयोगकर्तालाई हानी पुऱ्याउन सक्ने बग समाधान गर्न हामीलाई मद्दत गर्न सक्नुहुन्छ भने, तपाईंले बाउन्टी पाउन सक्नुहुन्छ,’ क्लबहाउसले आफ्नो ब्लगमा उल्लेख गरेको छ ।

 

पछिल्लो समयमा अडियो प्लेटफर्म क्लबहाउसको लोकप्रियता बढ्दै गइरहेको छ । योसँगै कम्पनीले समयसमयमा प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

 

यसैबीच कम्पनीले अब बग बाउन्टी प्राेग्राम पनि घोषणा गरेको हो । क्लबहाउसमा बग हन्टरका लागि विभिन्न दायरा हुन सक्छन् । क्लबहाउसको डोमेन, ब्याकइन्ड एपीआई, क्लबहाउसको मोबाइल एप्लिकेशन लगायत अन्य फिचरहरू बग हन्टिङको दायरा हुनसक्छ ।

 

सुरक्षा कमजोरीको रिपोर्ट आएको दुई दिनभित्र उक्त कमजोरीलाई सम्बोधन गर्ने र १४ दिनभित्र बाउन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

https://www.techpana.com/2021/109460/