काठमाडौं । क्रिप्टोकरेन्सी माइनरहरूले ह्याक भएको गुगल क्लाउड अकाउन्ट इन्टेन्सिभ माइनिङको लागि प्रयोग गरिरहेको भन्दै गुगलले चेतावनी दिएको छ । गुगलको साइबर सेक्युरिटि टिमले तयार पारेको ‘थ्रेट होराइजन‘ नामक रिपोर्टमा क्रिप्टोकरेन्सी माइनरहरूले यसरी क्लाउडमा भएका अकाउन्टहरू ह्याक गरेर माइनिङको लागि प्रयोग गरेको तथ्य सार्वजनिक गरेको हो ।

 

क्रिप्टोकरेन्सी माइनिङको लागि धेरै मात्रामा कम्प्युटिङ पावरको आवश्यकता पर्छ । त्यसका लागि माइनरहरुले प्रयोगकर्ताको अकाउन्टबाट गुगल क्लाउडमा पहुँच बनाउन यस प्रकारको ह्याकिङ गरिरहेको रिपोर्टमा उल्लेख छ ।

गुगल क्लाउड एउटा स्टोरेज प्लेटफर्म हो जसमा प्रयोगकर्ताहरूले आफ्नो डेटा तथा फाइलहरू राख्ने गर्छन् । गुगलका अनुसार हालै ह्याक भएका ५० वटा गुगल क्लाउड अकाउन्ट मध्ये ८६ प्रतिशत अकाउन्ट क्रिप्टोकरेन्सी माइनिङको लागि प्रयोग भएको पाइएको छ ।

 

आधिकांश ह्याक भएका अकाउन्टहरूमा ह्याक भएको २२ सेकेन्ड भित्र क्रिप्टोकरेन्सी माइनिङको सफ्टवेयर डाउनलोड गरिसकेको रिपोर्टमा छ । त्यसैगरी ह्याक भएका मध्ये १० प्रतिशत अकाउन्ट इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध स्रोतहरू स्क्यान गरी त्यसको कमजोर प्रणाली पहिचान गर्न प्रयोग भइरहेको पाइएको छ ।

 

त्यस्तै गरी आठ प्रतिशत अकाउन्ट अन्य लक्षित अकाउन्टहरू ह्याक गर्नको लागि प्रयोग भएको रिपोर्टमा उल्लेख छ । विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीको रुपमा चिनिएको बिटक्वाइनले धेरै ऊर्जा खपत गर्ने भएको कारण आलोचित हुँदै आएको छ ।

 

अन्य क्वाइनको तुलनामा बिटक्वाइन माइनिङ सबैभन्दा बढि उर्जा खपत गर्नेमा पर्छ । ‘सन् २०२१ को स्थिति हेर्दा अनैतिक क्रिप्टोकरेन्सी माइनरहरू भन्दा क्लाउड थ्रेड ल्यान्डस्केप (क्लाउड अकाउन्ट ह्याक भएर हुने गतिविधि) जटिल बन्दै गएको छ,’ गुगल क्लाउडका प्रमुख बब मेक्लर र गुगल क्लाउडका सुरक्षा सम्पादक सेठ रोजेनब्लाटले आफ्नो ब्लगमा लेखेका छन् । 

https://www.techpana.com/2021/110308/