काठमाडौं । चितवनमा जारी नेकपा एमालेको महाधिवेशनको चुनावको लागि करिब १०० वटा भोटिङ मसिन तयार भएको छ । रामलक्ष्मण इनोभेसन्सले तयार गरेको भोटिङ मसिनको लागि एमालेले ५० लाख रुपैयाँ खर्च गर्न लागेको हो । रामलक्ष्मणद्धारा निर्मित सो भोटिङ मसिन एमालेले ५० लाख रुपैयाँ तिरेर भाडामा प्रयोग गर्न लागेको राम-लक्ष्मण इनोभेसनका सहसंस्थापक राम रिजालले बताए । 

 

एमालेले आफ्नो महाधिवेशनमा भोटिङ मसिन प्रयोग गर्ने प्रतिबद्धता जनाएपछि राम-लक्ष्मणले आफ्नै खर्चमा थप ७० वटा मसिन तयार पारेका हुन् । ‘हामीसँग ४० वटा मसिन पहिले नै थियो एमाले महाधिवेशनको लागि १०० वटा मसिनको माग भएपछि थप ७० वटा आफ्नै लागतमा निर्माण गरेका हौं,’ रिजालले भने । उनका अनुसार करिब एक महिनामा एक करोड रुपैयाँ भन्दा बढी रकमको लागतमा यो भोटिङ मसिन तयार गरिएको हो । चुनावको लागि भोटिङ मसिन तयारी अवस्था रहेको उनले बताए । 

‘हामीले यो महाधिवेशनको लागि मात्र होइन, दीर्घकालिन सोचका साथ यसमा लगानी गरेका हौं । आगामी दिनहरूमा यसको माग बढ्छ भन्ने हाम्रो आशा छ,’ उनले थपे । 

 

२०६८/०६९ सालमै राम-लक्ष्मण रिमाल दाजुभाइले नेपालमै पहिलो पटक विद्युतीय भोटिङ मसिन बनाएका थिए । विभिन्न उद्योग वाणिज्य संघ, सहकारी, नेप्सकुन, स्ववियुलगायतका सय भन्दा बढी निर्वाचनमा यो विद्युतीय भोटिङ मसिन प्रयोग भइसकेको छ । त्यस्तै, नेपाल जेसिजले लगातार पाँच चुनावमा भोटिङ मेसिन प्रयोग गरिसकेको छ ।

 

आफ्नो कम्पनीले भोटिङको लागि मशिन तयारी अवस्थामा राखेको भए पनि एमाले महाधिवेशनमा चुनाव हुन्छ कि हुन्न भन्ने बिषय भने अन्यौलमै रहेको रिजाल बताउँछन् । 

 

‘हाम्रो तर्फबाट भोटिङको लागि सबै तयारी भइसकेको छ । यदि चुनाव भएन भने हाम्रो यो अहिलेको लगानी उठाउन भने थोरै समस्या हुनसक्छ,’ उनले थपे । 

यो पटक एमालेले दशौँ महाधिवेशनलाई विद्युतीय बनाएको छ । एमालेले महाधिवेशनका लागि मोबाइल वालेटबाट चन्दा संकलन गरेको थियो । त्यस्तै महाधिवेशन प्रचारका लागि डिजिटल बोर्ड, सामाजिक सञ्जाल, वेबसाइट, एसएमएस, रेडियो जिङ्गल र युट्यवब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग गरिएको थियो ।

https://www.techpana.com/2021/110344/